भुरुङ तातोपानीमा बाढीले पाइपलाइन बगाएपछि खानेपानीको समस्या

  • १५ बैशाख २०८३, मंगलवार
  • 1 पटक पढिएको

म्याग्दी १५ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुंग तातोपानीमा अबिरल बर्षासंगै आएको बाढीले जनजीवन प्रभावित बनेको छ । मंगलबार दिउँसो भुरुङ तातोपानी बजारको शिरतर्फबाट बग्ने दुई खहरेखोलाबाट आएको बाढी बस्तिभित्र पसेपछि जनजिवन प्रभावित बनाएको हो। बाढी पसेर केही घरमा सामान्य क्षति पु¥याएको र खानेपानीको पाइपलाइन बगाएको स्थानीय होटल व्यवसायि अमृतमान शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बस्तीमा वितरणका लागि ल्याईएको पाइपलाइन बाढीले बगाएर क्षति भएपछि तातोपानीमा खानेपानी अवरुद्ध बनेको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका शेरचनले तत्काल अस्थायी रुपमा खानेपानीको समस्या समाधानका लागि पाइपलाइन मर्मत गर्न बुधवार विहानै श्रमदान कार्यक्रम राखिएको छ । पर्यटकीय स्थलको रुपमा परिचित तातोपानीमा रहेको होटलहरुमा पर्यटकहरुले खचाखच भएको समयमा खानेपानी अबरुद्ध बनाएपछि होटल व्यवसायिहरु समस्यामा परेका छन् ।

८२ घरधुरीको बसोबास रहेको भुरुङ तातोपानीमा साना ठूला गरी करिब ३० वटा होटल सञ्चालनमा रहेका छन् । मुस्ताङ प्रवेशमार्गको रुपमा रहेको प्राकृतिक तातोपानी कुण्डका कारण यहाँ पर्यटकहरुको हरेक दिन चहलपहल हुने गर्छ । बाढीले तातोपानीदेखि मान्द्रेढुंगा जाने सडक समेत अबरुद्ध बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिनुभयो । यसैबिच मंगलवार परेको अबिरल बर्षाको कारण बेनी जोमसोम कोरला सडक अन्तर्गत महभिर, तातोपानी, गुइठेभिर, खामभित्ता र लाटोखोलामा बाढी र पहिरोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुस्तांग जाने आउने पर्यटक र सर्वसाधारणहरु बिच बाटोमै रोकिएका छन् ।