विकास निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायिलाई कारबाही गर्नुपर्छ ः साँसद पुन
- १५ बैशाख २०८३, मंगलवार
- 15 पटक पढिएको
म्याग्दी-बेनी), १४ वैशाख । म्याग्दीबाट निर्वाचित स्वतन्त्र साँसद महावीर पुनले विकास निर्माणका योजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको जिल्लाको समग्र विकास सम्बन्धमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्लामा प्रदेश अस्पताललगायतका धेरै गौरवका योजनाहरु निर्माण व्यवसायिको कारण अधुरा र अलपत्र परेको बताउँदै पूर्व शिक्षामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पुनले लापरबाही गरेर विकास निर्माणलाई ढिलासुस्ती गर्ने ठेकेदारलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । …… प्राकृतिक विपत्तिको कारण काम नहुनु फरक कुरा हो,जानाजान काम नगर्ने र राज्यलाई अटेर गर्नु बदबासी हो, यसमा पटक पटक म्याद थप्ने भूमिकामा रहेका कर्मचारीको पनि दोष देखिने गरेको छÚÚ– साँसद पुनले भन्नुभयो ।
उहाँले जिल्लामा रहेका छ वटै स्थानीय तहहरुले विकास निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायिको किटान गरेर सूचना दिएमा आफुले सम्बन्धित मन्त्रालयमा पुगेर कारबाहीको लागि दबाब दिने प्रतिबद्धता जनाउनुभयो । यस अघिका धेरैजसो साँसद र मन्त्रीहरु आफै ठेकेदार हुने गरेकाले कुनैपनि सरकारले विकास निर्माणलाई अलपत्र बनाउने ठेकेदारलाई कारबाही नगरेको उहाँको दावि छ ।
साँसद पुनले जनताहरुको माग पालिका स्तरमा केन्द्रित गरेर प्राथमिकीकरण गरेर सिफारिस गरी पठाएमा आफुले संघीय सरकार र मातहतका मन्त्रालय तथा विभागहरुमा पुगेर बजेट विनियोजनमा पहल गर्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले पालिका, प्रदेश र संघीय सरकारले गर्ने योजनाहरु छुट्टाएर कुन तहको सरकारले कुन योजनामा बजेट विनियोजन गर्ने निक्यौल गरेर योजना छनौट गरे मात्रै वैज्ञानिक तवरले योजना छनौट र कार्यान्वयन हुने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख डिलकुमारी खत्रीले आगामी आर्थिक बर्षमा संघीय सरकार मार्फत जिल्लामा प्रयाप्त बजेट तथा योजना भित्र्याउनका लागि प्रतिनिधि सभा सदस्यसंग जिल्लाका सरोकारवालाहरुको अन्तरक्रिया गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, शिक्षाविद् तथा सरोकारवालाहरुले जिल्लाको पूर्वाधार निर्माण योजनाहरुको प्राथमिकताबारे साँसद पुनको ध्यानकर्षण गराएका थिए । उनीहरुले यस अघि पहुँचको आधारमा योजना छनौट तथा बजेट विनियोजन गर्ने राष्ट्रिय परिपार्टीको कारण म्याग्दी विकासको क्षेत्रमा पछाडी परेको बताउँदै संसदमा प्रभाबकारी र सरकार मातहतका मन्त्रालयमा समन्वयकारी भूमिका खेल्न साँसद पुनलाई सुझाब दिएका थिए । -तस्बिर उपलब्ध छ)
कमल खत्री – – –