बेनीमा अरुणा शाहीको प्रतिमा अनावरण
- २७ फाल्गुन २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दी, २७ फागुन । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेपालको खेलकुद क्षेत्रमा पु¥याएको योगदानको सम्मानमा म्याग्दी सदरमुकाम बेनीमा उहाँको प्रतिमा अनावरण गरिएको छ । रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीले खेलकुदको माध्ययमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जिल्लाको गरिमा बढाउन भूमिका खेलेकोमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले उहाँको प्रतिमा तयार गरेको हो ।

समितिले अरुणा शाहीको दुई हातमा भलिबल रहेको ५ फिट ८ इन्च उचाईको फाईबरबाट निर्मित प्रतिमालाई तयार गरी अनावरण गरेको हो । उक्त अनावरण गरिएको प्रतिमालाई बेनी स्थित उपयुक्त सार्वजनिक ठाउँमा स्तम्भको रुपमा राखिने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, सहयोगदाताहरुबाट आर्थिक संकलन गरी खेलाडी शाहीको प्रतिमा निर्माण गरिएको हो ।

प्रतिमाको अनावरण गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले सबैले देख्ने गरी उपयुक्त ठाउँमा राख्ने र यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताउनुभयो । उहाँले शाहीले खेलकुदको क्षेत्रमा गरेको योगदान र संघर्षलाई प्रतिमा बनाएर सम्मान गरिएको बताउँदै जिल्लाका अन्य राष्ट्रिय अन्तराष्ट्रिय पहिचान बनाउन सफल खेलाडीहरुलाई समेत क्रमश सम्मान गर्ने प्रचलनको थालनी भएको बताउनुभयो ।
डेढ दशकदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डसहित विभिन्न प्रतिष्ठित अवार्ड प्राप्त गरीसक्नुभएको छ । म्याग्दीको माटोमा जन्मिएर राािष्ट्रय महिला भलिबल टोलीको नेतृत्व गर्न पाउनु आफ्नो गौरको बिषय भएको र गृहजिल्लामा प्रतिमा स्थापना गरी खेल क्षेत्रको योगदानको इतिहासको सम्मान गरेकोमा शाहीले आभार प्रकट गर्नुभएको छ ।
कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, ज्ञानुबाबा आवासीय माविका प्रधानध्यापक शुभकन्या गुरुङ, जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, बेन् िनगरपालिका–७का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले शाहीको योगदानको सम्मान र जिल्लामा खेल पर्यटनको प्रवद्र्धनमा प्रतिमाको स्तम्भले सहयोग पुग्नेमा जोड दिनुभएको थियो ।
सन् २०१३ मा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएकी शाहीको कप्तानीमा नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत, च्यालेन्ज कपमा कांस्य पदक जितेको छ । साथै, नेपालले इतिहासमै पहिलो पटक भारतलाई काभा वुम्नस नेसन्स लिगमा पराजित गर्नुका साथै १९ औँ एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले एसियामा डेब्यु गरेको थियो ।
शाहीले नेपाली राष्ट्रिय महिला भलिबलको कप्तानी सम्हालेयता नेपालले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा लगातार सफलता हाँसिल गर्दै आएको छ । डेढ दशकदेखि भलिबल खेल्दै आउनुभएकी शाहीले गण्डकी प्रदेशको टिमको नेतृत्व गर्दै प्रदेशभित्रका खेलाडीको हौँसला बढाउन भूमिका समेत खेल्दै आउनुभएको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य सोहन श्रेष्ठले स्वागत र कोषाध्यक्ष नगेन्द्र मल्लले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिमा बनाउन सहयोग गर्नुभएका दाताहरुलाई सम्मान गरिएको थियो ।
