रघुगंगामा नसर्ने रोगका विरामीको उपचार गर्न स्क्रिनिङ शिविर सञ्चालन

  • ३० माघ २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी, २९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले नसर्ने रोगका बिरामीको पहिचान गर्न टोलटोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ। माघ महिनामा नसर्ने रोग पहिचान अभियान सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रमअनुसार प्रदेश जनस्वास्थ्य कार्यालयसंगको समन्वयमा गाउँपालिकाले स्वास्थ्य परिक्षण अभियान सुरु गरेको हो ।
माघ २५ गतेदेखि सञ्चालन भएको स्क्रिनिङ कार्यक्रम अन्तर्गत वडा स्तरका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरी समुदाय स्तरमा पुगेर स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार, ३० बर्ष माथिका नागरिकका लागि नसर्ने रोगको पहिचानका लागि स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श सेवा उपलब्ध गराईएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले एक साताको तालिका नै बनाएर हरेक वडामा दुई देखि चार स्थानमा समुदायको गाउँबस्तीमा नै स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उक्त रक्तचाप, मधुमेह, मुटुरोग, मृगौला सम्बन्धी रोग, शरीरको उचाई र तौलको अनुपातको चेकजाँच गर्नुका सार्थै मानसिक रोगको परामर्श समेत दिने गरिएको स्वास्थ्य शाखाका प्रमुख जयसवालले जानकारी दिनुभयो ।
स्क्रिनिङ कार्यक्रमबाट नसर्ने रोगका बिरामीको पहिचान गरी समयमै उपचारको लागि आबश्यक परामर्श समेत प्रदान गरिएको छ । टोलटोलमा पुगेका स्वास्थ्यकर्मीहरूले ‘किट’को प्रयोग गरेर परीक्षण गरी समस्या देखिएकालाई थप उपचारका लागि अस्पताल जान सुझाब दिने गरिएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा भएको स्क्रिनिङमा २१२ जनाले सेवा लिएकोमा ९ जनालाई आबश्यक उपचारको लागि अस्पतालमा रेफर समेत गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका सबै पालिकामा आबश्यक स्वास्थ्य सामग्री र जनशक्ति परिचालन गरेर नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वभर र नेपालमा ७० प्रतिशत मृत्युको कारण बनेको नसर्ने रोगको समयमै पहिचान र उपचार गर्नका लागि स्क्रिनिङ कार्यक्रमले सघाउने अपेक्षा गरिएको छ ।