धारापानीमा नेकपाका उमेद्वारको भेटघाट र अन्तरक्रिया

  • १८ माघ २०८२, शनिबार
  • 11 पटक पढिएको

म्याग्दी, १७ माघ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता घेटघाट कार्यक्रम लिएर अघि बढेको नेपाली कम्युनिष्ट पार्टीले शनिवार धवलागिरी गाउँपालिका–७ धारापानीमा भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम समपन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका अर्जुन थापाको गृहगाउँ समेत रहेको धारापानीमा उम्मेदवार थापा सहितको टोलीले भेटघाट तथा अन्र्तक्रिया गरेका हुन् ।
मतदातासंगको भेटमा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री समेत रहनुभएका प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले दरबाङ–धारापानी–,ताकम–मुना–जलजला हुँदै ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडक बनाउने बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा म्याग्दी हुँदै निर्माण सुरु भएको मार्ग ६५ किलोमिटर छोटो पर्ने भएकाले सडकलाई स्तरीय बनाएर बैकल्पिक मार्गको रुपमा विकास गर्दै यस क्षेत्रको पर्यटन र आर्थिक विकासका गतिविधि बढाउन आफुहरु लागिपरेको बताउनुभयो । आफु भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहँदा गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारको समपुरक योजनको रुपमा दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक अर्ब रुपैयाँ बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार थापाले पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ–ताकम–मुना ढोरपाटन सडकलाई स्तरीय बनाउने एजेण्डालाई आफुले प्राथमिकतामा राखेको बताउँनुभयो । जिल्ला सदरमुकामदेखि पालिकाको केन्द्र जोड्ने र पालिकाको केन्द्रदेखि वडा र मुख्य बस्ती जोड्ने योजनाहरुलाई समेत आफुले घोषणा पत्रमा समेटेर पूर्वाधार निर्माण र आर्थिक विकाससंगै सुशासनको मुद्धा लिएर आफु चुनाबी प्रतिस्पर्धामा आएको उहाँको भनाई थियो । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीबाट मालिका गाउँपालिकाको चुनाबी कमाण्डर चयन हुनुभएका लालु किसान, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन, पार्टीका नेता किरन थापा, रिमप्रकाश थापा लगायतले धौलागिरीको भूगोलबाट संघीय संसदको उम्मेदवारको रुपमा युवा नेता अर्जुन थापालाई अघि बढाएर पार्टीले न्याय गरेको र परिवर्तन चाहने मतदाताहरुले समेत मतदान गरी अनुमोदन गर्नेमा आफुहरु विश्वस्त रहेकोमा जोड दिनुभएको थियो ।