जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा, जनही नगद रु १ लाख प्रोत्साहन

  • १४ माघ २०८२, मंगलवार
  • 19 पटक पढिएको

म्याग्दी , १३ माघ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत उत्कृष्ट १० भित्र छनौट भएका पालिकाभित्रका उद्यमीहरुलाई सम्मान गरिएको हो ।
उत्कृष्ट २० उद्यमीमा समेटिएकामध्ये उहाँहरुको उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मुल्याङ्कनबाट उत्कृष्ट १० उद्यम घोषणा गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट १० उद्यमीलाई ४० प्रतिशत थप रकम साझेदारी गरि प्रविधि खरिदका लागि जनही नगद रु १ लाख नगद सहयोग समेत गरिएको छ ।
उत्कृष्ट उद्यमीको रुपमा टपरी एग्रो प्रा.लिकी जमुना आचार्य, जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री,पाईजा अर्गानिक फलफुल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र हरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मी छनौट हुनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य , उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलगायतले उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो । उद्यमी सम्मान गर्दै पर्यटन मन्त्री बस्यालले जलजला तरकारि,फलफुल, पशुपालन र लघुउद्यममा सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँले उद्यमीहरुको प्रोत्साहन, बजारमा सन्जालिकरण, उद्यममा नवप्रवद्धन र व्यावसायिकता बढाउन वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रमले गरेको सुरुवात प्रसंसनिय रहेको र यसलाई अझ सघन रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । गण्डकी प्र्रदेशभित्रका पाँच गाउँपालिकामा सञ्चालित यस कार्यक्रमको प्रभावकारिताका आधारमा यसलाई अन्य पालिकाहरुमा समेत विस्तार गरिने मन्त्री बस्यालले बताउनुभयो ।
‘‘ अहिले गाउँमा युवापुस्ता पाउनै मुस्किल छ, स्थानीय स्रोत र साधनमा आधारित उद्यमशिलतालाई बढवा दिनुपर्छ, स्वदेशमी स्वरोजगार र आत्मनिर्भरतासंगै रोजगारका अवसर सिर्जना गर्नतर्फ प्रदेश सरकारले जोड दिएको छ’’–मन्त्री बस्यालले भन्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले गाउँपालिकाभित्रका उद्यमीहरुलाई नविनतम सोचका साथ उद्यमशिलतातर्फ अघि बढ्न कार्यक्रमले सहयोग पुगेको बताउनुभयो । उत्कृष्ट उद्यमीमा समेटिएकाहरुको उद्यमशिलताले अन्य व्यक्तिहरुलाई समेत हौँसला थपिएको बताउँदै उहाँले यस कार्यक्रमले समेटन नसकेका उद्यमीहरुलाई पालिकाले अन्य स्रोत र कार्यक्रमहरुबाट प्रोत्साहन गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले आवेदन दिएका उद्यमीहरुमध्ये कार्यक्रमको कार्यविधि अनुसार विभिन्न सुचकको र छनौट विधिको आधारमा उत्कृष्ट उद्यमीहरुको छनौट भएको बताउँदै उद्यमीहरुको उद्यमशीलता प्रवद्र्धनमा यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट उद्यमीको रुपमा सम्मानीत हुनुभएकी जमुना आचार्य र कमला बानियाँ थापाले नविनतम सोच र प्रविधिका उपयोग गर्दा आफ्नो फर्मबाट उत्पादित बस्तुको उल्लेखनिय माग बढेकोले उद्यमलाई बिस्तार गर्दै रोजगार शिर्जना गर्न तर्फ लाग्ने बताउनुभयो। कार्यक्रमको मोडालिटि दिगो र प्रभाबकारि भएकाले पालिकाभित्रका अन्य उद्यमीहरुलाई समेत नयाँ नयाँ कार्यक्रम मार्फत प्रोत्साहन गरेर जलजलालाई उद्यमशीलतामा नमुना पालिकाको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।
जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमीको रुपमा छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरीएको थियो ।
यस कार्यक्रम मार्फत गत आ.व. २०८१÷२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरुलाई न्युनतम रु ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २५ हजार पुरक अनुदान प्रदान गरि सकिएको छ भने ४० भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उध्यमिलाई यो आर्थिक बर्षमा ३४ हजार बराबरको प्रबिधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पुरक अनुदान प्रदान गरिने भएको छ ।
उत्कृष्ट २० बाट छानिएर आएका १० जना उद्यमीमध्ये एक जनालाई पालिकाको सर्वोकृष्ट उद्यमी घोषणा गरिने कार्यक्रमका फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो । सर्वोकृष्ट हुने एक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यस कार्यक्रमले उद्यमीहरुलाई उद्यमको योजना निर्माण, उद्यमीहरुलाई बृद्धिमुखी योजना सम्बन्धि तालिम दिने, नवप्रवद्र्धन सम्बन्धी प्रविधि सहयोगमा सहयोग गरेको छ । जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रम जलजलासंगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा पनि सन्चालित छ ।