म्याग्दीमा महावीरलाई रास्वपाको समर्थन

  • ११ माघ २०८२, शनिबार
  • 17 पटक पढिएको

म्याग्दी, १० माघ । म्याग्दीको स्वतन्त्र उम्मेदवार बन्नुभउका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार युवराज रोकाले सर्मथन गर्नुभएको छ । पुनले बेनीको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलन स्थलमा पुगेका रोकाले पार्टीको सल्लाह र शुभेच्छुकहरूको सुझाव अनुसार प्रतिनिधिसभामा महाविरलाई सघाउने घोषणा गर्नुभएको हो । ‘हामी र हाम्रो पार्टीको नेतृत्वले महावीर सरसंग निरन्तर संवाद गर्दै आएका थियौँ, तर फोन गर्दा कुरा गर्नै नचाहने, फोन उठाएर पनि त्यत्तिकै राखिदिने गर्नुभयो, गाली पर्नि गर्नुभयो, उहाँले जे–जस्तो गरेपनी हामीले उहाँ जत्तिको सक्षम व्यक्तिलाई जिताउन पर्छ भनेर समर्थन गर्ने निर्णय गरेका हौँ’’–रोकाले भन्नुभयो । निर्वाचन आयोगले तोकेको समयसिमा भित्र मनोनयन फिर्ता गर्न ढिलाइ भएपनि प्रतिनिधिसभामा उहाँलाई सघाउने र बिजेता बनाउने रोकाले बताउनुभयो । जान्नेलाई छान्ने पार्टीको नीति नै रहेकाले जिल्लामा उम्मेदवार बनेकाहरुमध्ये पुन सबैभन्दा सक्षम रहेको उहाँको भनाई छ ।

 

स्वतन्त्र उमेदवार बनेका बेनीका नविन जिसीले उमेदवारी फिर्ता लिएर शुक्रबार महावीरलाई सघाउने घोषणा गर्नुभएको थियो । नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाले बिहीबार विज्ञप्ति जारी गरेर महावीरलाई सर्मथन गर्ने घोषणा गरेपनि उमेदवारी फिर्ता गर्नुभएको छैन। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको शुक्रबार दिउँसो १० देखि १ बजेभित्रको समयमा जिसीको मात्र उमेदवार फिर्ता भएको हो । १३ जनाको मनोनयन दर्ता भएकोमा एक जना स्वतन्त्र र १२ जना राजनीतिक दलको उमेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताउनुभयो । नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, नेकपा (माओवादी)का क्षेत्रबहादुर घिमिरे (धु्रब), प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनका भीमबहादुर लामाले उमेदवारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार तीन सय ९७ जना मतदाता छन् । ८२ वटा मतदान स्थल र एक सय २० वटा मतदान केन्द्र कायम रहेका छन् ।