नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका श्रेष्ठको उमेद्वारी घोषणा

  • ८ माघ २०८२, बुधबार
  • 1 पटक पढिएको

बेनी, ७ माघ ः म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । आगामी चैतमा हुने महासंघको महाधिवेशनबाट चयन हुने कार्यसमितिमा गण्डकी प्रदेशको भूगोलबाट केन्द्रिय सदस्यको उम्मेदवार बन्ने श्रेष्ठले घोषणा गर्नुभयो ।
बुधबार म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रममा श्रेष्ठले पुर्व अध्यक्षहरु र वर्तमान कार्यसमितिका पदाधीकारीहरुको परामर्शमा म्याग्दी उद्योग बाणिज्य संघले आफुलाई केन्द्रिय सदस्यको उम्मेदवारको रुपमा प्रस्तुत गरेको जानकारी दिनुभयो ।

“निजी क्षेत्रको छाता संगठनमा म्याग्दीको पहुँच र उपस्थितिको आवश्यकता महशुस म्याग्दीका उद्योग ब्यवासयीहरुले गर्नुभएको छ,” उहाँले भन्नुभयो “सबै अग्रज पुर्व अध्यक्ष र कार्यसमितिका साथीहरुले पनि साथ दिएपछि अघि बढ्ने निर्णय लिएको हो ।” गण्डकी प्रदेशका जिल्लाहरुको सन्तुलन मिलाउनका लागि पनि म्याग्दी केन्द्रिय सदस्यमा दावी गरेको हो । उद्योग वाणिज्य महासंघको बिधानमा जिल्ला अध्यक्षमा बहाल रहेको अवस्थामा पनि केन्द्रिय सदस्य बन्न पाउने ब्यवस्था रहेको छ ।