पर्यटकीय गन्तव्यका रुपमा चम्किदै चाङ्गा: ‘हिमाल, संस्कृति र ग्रामीण जीवनशैलीको संगम’

  • ४ पुष २०८२, शुक्रबार
  • कमल खत्री
  • 3 पटक पढिएको

कमल खत्री

म्याग्दी , ४ पुस । प्राकृतिक सौन्दर्यले भरिपूर्ण म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । समुद्री सतहदेखी दुई हजार २०० मिटर उचाईमा रहेको चाङ्गामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रिय विद्युतिकरणको सुविधा विस्तारसंगै प्रचार प्रसारको कारण आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । चाङ्गाखर्कबाट धौलागिरी र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालहरुको मनमोक दृष्य अवलोकन गर्न सकिन्छ ।
पहिलो पटक चाङ्गा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरीले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यसंगै ग्रामिण जीवनशैलीले आफुलाई लोभ्याएको बताउनुभयो । उहाँले स्थानीयबासीले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसंग जोड्न सकेमा पर्यटन प्रवद्र्धन मार्फत स्थानीयबासीको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । चाङ्गा प्रकृति, जीवनशैली र संस्कृतिको संगम मानिन्छ ।
यहाँबाट चुरेन, सिता, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । चाङ्गा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकहरुलाई स्थानीयबासीले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रवन्ध समेत मिलाईएको छ । पर्यटन सम्भावनाले भरिपूर्ण रहेपनि ओझेलमा परेको कारण गाउँपालिका र वडा मार्फत पूर्वाधार निर्माण र प्रचार प्रसारको काम अघि बढाईएको मंगला गाउँपालिका– ५ का वडा अध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार, चाङ्गा खर्कमा वनभोजस्थल चाङ्गा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जंगलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाईएको छ । ‘‘स्थानीयबासी र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रिय विद्युतिकरण विस्तार भएको छ, चाङ्गा खर्कको पाखोबारीमा चिया बगाउन बनाउने तयारीमा जुटेका छौँ, चाङ्गामा घरवास सञ्चालन गरेर पर्यटकहरुको बसाईलाई आरामदायि बनाउने सोचमा छौँ’’– वडा अध्यक्ष खत्रीले भन्नुभयो ।
अहिले हिउँदयाममा बनभोज र घुमघामका लागि सवारी साधन हुँदै आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुग्ने गरेका छन् । विभिन्न संघ संस्थाहरुले आफ्नो साधारणसभा तथा बैठकहरु समेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको सुरुवात भएको छ । मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पिपलबोट, पाखु, धारा, सिर्कुम, टिकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ । बाबियाचौरबाट छिसबाङ, टिकाबाङ, सिरकुम हुँदै चाङ्गा पुग्न सकिने बैकल्पिक बाटो रहेको छ भने चाङ्गाबाट मंगला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल तिनचुले जाने पदमार्ग जोडिएको छ ।
मंगला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरुको पहिचान, प्रचार प्रसार र प्रवद्र्धनका लागि गाउँपालिकाले पहल थालेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिईएको बताउनुभयो ।
चाङ्गामा १७ घरधुरीको बसोबास छ । यहाँ परम्परागत रुपमा कोदो, मकै, फापर, तोरीलगायतका अन्नबालीसंगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेती समेत हुने गर्छ । परम्परागत रुपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकहरुले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकन संगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ । शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुग्ने गरेका छन् ।
प्राकृतिक सौन्दर्य र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिक संगै बाह्य पर्यटकहरुको समेत आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरी पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो । उहाँले चाङ्गालाई केन्द्रीत गरेर मंगला गाउँपालिकाकाभित्रका पर्यटकीय स्थलहरु चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चाङ्गा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराह ताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आबश्यक रहेको बताउनुभयो ।
मनोरम हिमाल र ग्रामिण भू–वनोटको दृष्यहरुसंगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पंक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ। यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरवास सञ्चालन, प्रचार प्रसार र पूर्वाधार निर्माण गर्न आबश्यक रहेको छ । कच्ची सडकको ट्याकलाई स्तरोन्नती गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउन सकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ ।     रासस    

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l