प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन : म्याग्दीबाट काँग्रेसले ग¥र्यो उम्मेदवार सिफारिस
- २ पुष २०८२, बुधबार
- 41 पटक पढिएको
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको मिती नजिकीएसंगै राजनीतिक दलहरु उम्मेदवार छनौटमा जुटेका छन् । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेस म्याग्दीले आकाँक्षी उम्मेदवारहरुको छनौट गरी सिफारिस गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार जिल्ला समितिको बैठक बसेर प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातीक तर्फ तथा राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली सिफारिस गरिएको नेपाली काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दुई जनाको मात्रै नाम सिफारिस गरिएको छ । जिल्ला पार्टी सभापति समेत रहनुभएका विघटित प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर) र उप–सभापति कर्णबहादुर भण्डारी (के.बि.)लाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा केन्द्रमा सिफारिस गरिएको छ ।
त्यस्सैगरी काँग्रेस म्याग्दीले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि समेत खुल्ला तर्फ नेत्र बहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरेको छ । महत पार्टीको पूर्व सह–सभापति एवं वर्तमान महासमिति सदस्य हुनुहुन्छ भने श्रेष्ठ नेपाल महिला संघ म्याग्दीको अध्यक्ष हुनुहुन्छ । प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा सिफारिस हुनुभएका गर्बुजा जेनजी आन्दोलनअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
बेलायसी सेनाबाट सेवा निवृत लिएपछि राजनीतिमा होमिनुभएका गर्बुजा वि.स. २०७० को संविधानसभाको दोस्रो र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी प्रतिस्पर्धामा उत्रनुभएको थियो । गएको प्रतिनिधिसभा चुनावमा तत्कालीन नेकपा (माओवादी केन्द)्र, नेकपा (एकिकृत समाजवादी ) सहितका दलको गठबन्धनबाट साँसद निर्वाचित हुन सफल हुनुभएको थियो । प्रतिनिधि सभा सदस्य मा सिफारिस हुनुभएका केवी भण्डारी काँग्रेस म्याग्दीमा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्छ । प्रतिनिधिसभा समानुपातिक तर्फ त्रिलोकचन्द विश्वास विश्वकर्मा, पिपला बुढा, दिल बहादुर विश्वकर्मा र बागबिर दमाईको नाम सिफारिस भएको छ । जेनजी बिद्रोहपछि प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीको नेतृत्वमा गठीत सररकाले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ भने निर्वाचन आयोगले नियमित प्रकृया अन्तर्गत राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रकृया अघि बढाएको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ । १८ जना निर्वाचित र राष्ट्रपतिबाट मनोनीत एक गरी १९ जना सदस्यको पदावधि सकिन लागेकाले राष्ट्रिय सभा सदस्य पदको निर्वाचन गर्न लागिएको हो । कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई÷दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन् ।