बेनी बचत सहकारीको साधारणसभा,गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
- ३० मंसिर २०८२, सोमबार
- 33 पटक पढिएको
म्याग्दी, २८ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग गरेको छ । संस्थाको २५ औँ स्थापना दिवस तथा २४ औँ बार्षिक साधारणसभाको अवसरमा आइतवार संस्थाले बेनी नगरपालिका– ९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु ३० हजार एक सय आर्थिक सहयोग गरेको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रमेश गिरीले गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सहकारीले बचत संकलन र ऋण लगानीका साथै सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्ने भएकाले ज्येष्ठ नागरिक आश्रमलाई उक्त सहयोग गरिएको सहकारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा अहिले ४३ जना ज्येष्ठ नागरिकहरु बस्दै आएका छन् । विभिन्न संघ संस्था र व्यक्तिहरु मार्फत प्राप्त सहयोगले आश्रम सञ्चालनमा सहयोग पुग्ने गरेको भन्दै सहकारीको स्थापना दिवसमा आश्रमलाई सहयोग गरेकोमा आश्रमका अध्यक्ष पुनले आभार प्रकट गर्नुभयो ।
साधारणसभामा सहकारीले ७५ बर्ष उमेर पुगेका ९ जना ज्येष्ठ शेयर सदस्यहरुलाई ‘बेनी बचत आजीवन सहारा’ कार्यक्रम अन्तर्गत जनही नगद रु ६ हजार सहित सम्मान गरेको छ । यस सहकारीले ७५ बर्ष उमेर पुगेका शेयर सहस्यलाई हरेक बर्ष ज्येष्ठ नागरिक भक्ता स्वरुप उक्त रकम प्रदान गर्दै आएको छ ।
कार्यक्रममा उत्कृष्ट कारोवारकर्ता व्यक्तिगत तर्फ माधवप्रसाद रेग्मी र संस्थागततर्फ बेनी खानेपानी उपभोक्ता संस्था, ज्येष्ठ नागरिक दयासागर शर्मा , उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका प्रवन्धक सज्जन चौधरी सहित स्थापनादेखि हालसम्मका प्रवन्धकहरुलाई समेत सम्मान गरिएको थियो । आर्थिक बर्ष २०८१÷०८२ मा सहकारीले कुल ४१ करोड १९ लाख बचत संकलन, ३६ करोड २० लाख ऋण लगानी तथा ७० लाख ५४ हजार मुनाफा गरेको जनाएको छ । साधारण सभाको उद्घाटन गर्दै सहकारीका निवर्तमान अध्यक्ष रमेश गिरीले छरिएर रहेको पुँजीलाई एकिकृत गरी उद्यमशिलतामा लगानी र रोजगारी सिर्जनामा सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले वर्तमान अवस्थामा सहकारी संस्थाहरुमाथि थुपै्र प्रश्नहरु उठिरहेको अवस्थामा बेनी बचतले सहकारीका सिद्धान्तलाई आत्मसाथ गरेकै कारण कठिन परिस्थितिमा समेत राम्रो प्रगति हाँसिल गर्न सम्भव भएकोमा जोड दिनुभयो । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, पूर्व सञ्चालक समितिका सदस्य सुवास कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले बार्षिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक शिवप्रसाद कटुवाल क्षेत्रीले लेखा प्रतिवेदन, कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठद्धारा आयव्यय विवतरण प्रस्तुत गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत र सचिब चन्द्रबहादुर घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
