गलेश्वर माविमा खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
- २७ मंसिर २०८२, शुक्रबार
- 63 पटक पढिएको
म्याग्दी, २६ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलले ‘विद्यालय शिक्षामा एआइ र यसको भविष्य’ बिषयक वक्तृत्वकला प्रतियोगितामा म्याग्दी एकेडेमी सिंगाका शिखा केसी प्रथम,प्रकाश माविका सदिक्षा सुवेदी द्धितीय,लिटिल गार्डेन एकेडेमीका दिक्षा पौडेल तृतीय र शिब मावि फर्सेका अनुराग सुवेदी सान्त्वना हुन सफल हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय,तृतीय र सान्त्वना हुन सफल विद्यार्थीहरुलाई क्रमशः नगद रु ५ हजार, ३ हजार , २ हजार र १ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । विभिन्न १३ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रममा निर्णायक मण्डलका संयोजक विद्यालयका शिक्षक मुकुन्द रेग्मीले विद्यार्थीहरुलाई पृष्ठपोषण सहित नतिजा सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका अध्यक्ष अमर बानियाँले युवा रेडक्रस सर्कलले रचनात्मक कार्य गरेको बताउँदै विद्यार्थीहरुलाई प्रतिस्पर्धी र सिर्जनशिल बनाउन विद्यालय तहका अतिरिक्त क्रियाकलापहरुले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर केसी र विद्यालयका प्रधानध्यापक तथा युवा रेडक्रस सर्कलका संरक्षक गणेश बानियाँले मन्तव्य राख्नुभएको थियो ।युवा रेडक्रस सर्कलका सभापती स्नेहा गर्बुजाको अध्यक्षता, छात्रा सुकृती पौडेलको स्वागत तथा स्वस्तिका पौडेल र अयुष्मा चोखालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
