छोरा र भाइको जन्मदिनकोमा समाजसेवी केसीद्धारा अन्नक्षेत्रलाई एक लाख सहयोग
- २२ मंसिर २०८२, आईतवार
- 25 पटक पढिएको
म्याग्दी, २१ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा रहेको गलेश्वर पुलस्त्य पुलह अन्नक्षेत्रलाई रु एक लाख सहयोग गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका समाजसेवी वकिल केसीले आफ्नो छोरा अप्सन र भाई किसोर केसीको जन्मदिनको अवसरमा अन्नक्षेत्रलाई उक्त सहयोग गर्नुभएको हो ।

आइतवार अन्नक्षेत्रमा समाजसेवि केसीका बुबा इन्द्रबहादुर खत्रीले अन्नक्षेत्र व्यवस्थापन समितिका सचिब बाबुराम आचार्य र कार्यालय सचिब माधव रिजाललाई उक्त सहयोग प्रदान गर्नुभएको थियो । सहयोग हस्तान्तरण गर्दै खत्रीले ज्येष्ठ नागरिक, तिर्थयात्री र विपन्न तथा वेसाहारा भएका व्यक्तिहरुलाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको अन्नक्षेत्रलाई सहयोग गर्न आउँदा आफुलाई खुसी लागेको बताउनुभयो ।
उक्त अवसरमा सहयोगदाता मार्फत प्राप्त रु १ लाख रकमबाट गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा अन्नक्षेत्रमा नियमित रुपमा भोजन गर्दै आएका जडभरत शालीग्राम संस्कृति विद्यालयमा संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुलाई भोजन समेत गराईएको थियो ।
सहयोगदाता खत्री परिवारबाट प्राप्त उक्त सहयोग रकममध्ये रु २४ हजार खिर भण्डारा, रु ६ हजार ज्येष्ठ नागरिकलाई दान दक्षिणामा खर्च भएको र बाँकी रहेको ७० हजार अन्नक्षेत्रको बैँक खातामा जम्मा गरिने संस्थाका सचिब आचार्यले जानकारी दिनुभयो । ‘‘उहाहरुको सहयोगले अन्नक्षेत्रलाई ठुलो राहत मिलेको छ, निशुल्क रुपमा भोजनको प्रवन्ध गर्ने अभियानसंगसंगै अन्नक्षेत्रको पूर्वाधार व्यवस्थापनमा समेत सहयोग र सरकारी तवरबाट बजेटको जरुरी रहेको छ’’– सचिब आचार्यले भन्नुभयो ।
पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएका समाजसेवी केसीले यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । उक्त अवसरमा अन्नक्षेत्रको तर्फबाट सहयोगदातालाई सम्मानपत्रद्धारा सम्मान समेत गरिएको छ ।
गलेश्वर पुलत्स्य पुलह अन्न क्षेत्रमा गलेश्वर ज्येष्ठ नागरिक आश्रममा आफै पकाएर खाना खान नसक्ने बृद्धबृद्धा, तिर्थयात्री, विपन्न र वेसाहारा नागरिक र संस्कृत अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई दैनिक रुपमा निशुल्क भोजनको व्यवस्था हुँदै आएको छ भने अन्नक्षेत्रमा गाई संरक्षणका लागि गौशाला समेत सञ्चालनमा रहेको छ ।
