रघुगङ्गामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

  • २० मंसिर २०८२, शुक्रबार
  • 1 पटक पढिएको

म्याग्दी १९ मङ्सिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिका– ३ पिप्ले स्थित रघुगंगा माविको खेलमैदानमा शुक्रवारदेखि सुरु भएको विद्यालयस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पालिकाभित्रका विभिन्न १२ विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्व राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचान गर्दै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत खेल खेल्ने अवसर सिर्जना गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले स्थानीय तहहरुले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचान संगै विद्यार्थी र युवाहरुलाई उचित खेलकुद गतिविधि र खेल अभ्यासका लागि अत्यावश्यक पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति केबी भण्डारी, वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, रघुगङ्गा माविका प्रधानध्यापक रमेशसिंह ठकुरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठ, ज्ञानोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदी लगायतले विद्यार्थीहरुको खेलकुद क्षमताको विकास र प्रतिस्पर्धी क्षमताको विकास गर्न प्रतियोगिताले सहयोग पुग्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि प्रत्येक वडा र विद्यालयमा व्यवस्थित खेलमैदान निर्माणलाई गाउँपालिकाले प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा टेवा मिलेको बताउनु भयो । भलिबल, एथलेटिक्स र कबड्डी विधातर्फ छात्र र छात्राहरूको १३–१३ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा दुई सय २५ खेलाडी विद्यार्थीले विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा विजेता विद्यालयलाई ६० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ४० हजार र ३० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।

उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्रतर्फ अमर माविका शिव सुनार प्रथम, मुक्तिधाम माविका उपेश विक दोस्रो र ज्ञानदोय माविका आदर्श विक तेस्रो हुनु भयो । यसैगरी छात्रातर्फ मुक्तिधाम माविकी सोनिया खड्का प्रथम, अमर माविकी सुप्रिया नगरकोटी दोस्रो र महेन्द्र माविकी सुस्मा विकले तेस्रो स्थान प्राप्त गर्नु भयो । मार्चपासमा रघुगङ्गा मावि पिप्ले प्रथम, अमर मावि पाखापानी दोस्रो र जनता मावि दग्नाम तेस्रो भएका छन् । प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने छ ।्विद्यार्थी, शिक्षक र कर्मचारीहरुको साँगेतिक प्रस्तुती रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका लेखा अधिकृत अर्जुन गौतमले गर्नुभएको थियो ।