गुर्जामा हिमाली आमा समुहद्धारा देउसी भैलोमा संकलित रकम सडक निर्माणमा सहयोग
- ११ कार्तिक २०८२, सोमबार
- 1 पटक पढिएको
म्याग्दी, १० कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् । गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो ।
देउसी भैलोमा संकलन भएको रु ४ लाख ९ हजार रकममध्ये दुर्गम र विकट बस्तीको रुपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पु¥याउने योजनालाई २ लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो । गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उदेश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
आईतवार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्धय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । आमा समूहले मौलिक कला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट संकलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमुना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार, उक्त रकम वडा कार्यालय मार्फत सडक निर्माण योजनाको अगुवाई गरिरहेको गुर्जा विकास मञ्च पोखरालाई उपलब्ध गराईनेछ । धवलागिरी गाउँपालिकलाको वडा नम्बर २ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म सडकको पहुँच पु¥याउन करिब पाँच किलोमिटर सडकको ट्याक निर्माण गर्न बाँकी रहेको छ । यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जाबासीले गाउँमा सडक पु¥याउने योजनामा आन्तरिक स्रोत जुटाएर समेत सडकको ट्याक विस्तारको काम गर्दै आएका छन् ।
चालु आर्थिक बर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पु¥याउने लक्ष्यका साथ गाउँपालिका, प्रदेश र संघीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, लुलाङ–गुर्जा सडकका लागि यस बर्ष संघीय सरकारले समपुरक बजेटबाट रु १ करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु ३ करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ ।