जवरजस्तीकरणी र हत्यामा संलग्न अभियुक्त २० बर्षपछि पक्राउ (भिडियाे सहित)

  • १० कार्तिक २०८२, आईतवार
  • 289 पटक पढिएको

म्याग्दी , ९ कात्तिक । म्याग्दीमा २० बर्षअघि भएको हत्या घटनामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेनी नगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको बि.स २०६२ साल असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका छिमेकी टोल जरबुटाका ४३ बर्षिय कृष्ण भनिने ठहरबहादुर घर्ति क्षेत्रीलाइ प्रहरीले घटना भएको २० बर्षपछि पक्राउ गरेको हो ।


आइतवार जिल्ला प्रहरी कार्यालय म्याग्दीले अयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले घटना भएकै रातबाट भागेर फरार भएका अभियुक्तलाई निजकै घरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका ठहरबहादुर नाताले मृतक घर्तीका भाई हुन भने उनीहरु छिमेकी समेत हुन् ।

घटना हुनुको दिनमा संगै काम गरेको र कुराकानीका क्रममा प्रयोग भएको शब्दले रिस खप्न नसकेर सोही रातमा घरमा सुतिरहेका कर्णबहादुरलाई दाउराले हानेर हत्या गरेको र उहाँकी श्रीमतीलाई समेत दाउराले हानेर गम्भिर घाईते बनाई गरगहना लुटेर अभियुक्त घर्ती भागेर भारतको मुम्बई पुगेको अनुसंधानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि अभियुक्त घर्ती पाँच बर्ष मुम्बई बसेका थिए भने त्यसपछि पोखरा आएर खाजा पसल सञ्चालन गरेको तथा देशका विभिन्न ठाउँमा ज्यामि र मिस्त्रीको काम गरी लुकिछिपि घरमा समेत आउने जाने गरेका थिए । गत असारदेखि घरमा धेरै आउने जाने गर्न थालेका घर्तीलाई प्रहरीले कात्तिक १ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यान सम्बन्धी कसुर मुद्धामा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिएर अनुसंधान गरिरहेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

अभियुक्त घर्ती क्षेत्री यस अघि पनि जवरजस्ती करणी मुद्धामा ठोसी ठहर भएको पाईएको छ । वि.स. २०५९ पुसमा जवरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएकोमा वि.स. २०६० चैत ७ गते तत्कालिन विद्रोही माओवादीले गरेको बेनी आक्रमणमा कारागारबाट भागेर फरार भएका थिए । जिल्ला अदालत म्याग्दीले वि.स. २०६६ जेठ १६ गते घर्ति क्षेत्रीलाई जवरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजायको फैसला गरेको थियो ।