ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित

  • २ कार्तिक २०८२, शनिबार
  • 11 पटक पढिएको

म्याग्दी , १ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा शनिवार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् ।
शिविरमा वडा नम्बर ७ ताकमका साथै वडा नम्बर २ लुलाङ, वडा नम्बर ३ मुना , र वडा नम्बर ४ खिबाङका सर्वसाधारणले समेत आँखा जाँच गराएर उपचार सेवा लिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो । ग्रामीण भेगका सर्वसाधारण नागरिकहरुलाई आँखा सम्बन्धी समस्याको घरदैलोमै उपचार गराउने अवसर दिनका लागि सामाजिक उत्तरदायित्व बहन गरेर शिविर आयोजना गरिएको अध्यक्ष घर्तिले बताउनुभयो ।
शिविरमा नेत्र अधिकृतद्धय दिनेश बानियाँ र गणेश महतो सहित स्वास्थ्यकर्मीहरुको टोलीले आँखा जाँच, औषधी र चश्मा वितरण संगै परामर्श सेवा दिनुभएको थियो । गाउँमै आँखा उपचार सेवा लिन पाएपछि स्थानीयबासी खुसी भएका छन् । शिविरको उद्घाटन गर्दै धवलागिरी गाउँपालिका– ७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले शिविरले घरदैलोमै उपचार सेवा लिने अवसर दिएको बताउँदै सर्वसाधारण नागरिकलाई राहत भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय रहेको म्याग्दी जेसीजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा रचनात्मक कार्यहरु गरी आफुलाई स्थापित सामाजिक संस्थाको रुपमा अग्रसरता लिएकोमा जोड दिनुभयो । नेत्रज्योती संघ म्याग्दीका सभापति अमर बानियाँले आँखा मानिसको अभिन्न अंग भएकाले आँखाको सुरक्षाको सन्देश र आँखाको समस्या सम्बन्धी उपचार सेवा दिन शिविरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्तिको अध्यक्षता, निवर्तमान अध्यक्ष दिनेश बानियाँको स्वागत र कोषाध्यक्ष नविन पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।