सञ्चार सुविधा नहुँदा अन्नपूर्ण प्रथम आधार शिविर जाने पर्यटकहरुलाई सास्ती

  • ३० आश्विन २०८२, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी , ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाब भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढेपनि सञ्चारको पहुँच नहुँदा पर्यटकहरुले सास्ती पाएका छन् ।
असोज महिनाको सुरुवातदेखि दैनिक १५० देखि तीन सय जनासम्म पर्यटकहरु आधार शिविर क्षेत्रको भ्रमणमा पुगेका छन् । सञ्चारको पहूँच नहुँदा पदमार्ग र आधार शिविर क्षेत्रमा सञ्चालनमा रहेका होटलसंग सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकहरुको बसोबासमा समस्या भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता समेत रहनुभएका पर्यटन व्यवसायि तेज गुरुङले बताउनुभयो । उहाँका अनुसार, यस पदमार्गको हुमखोलासम्म विद्युत र मोवाईल फोनको पहुँच पुगेको छ ।


‘‘हुमखोलादेखि आधार शिविरसम्मको क्षेत्रमा मोवाइल फोनको सञ्चार र विद्युत पहुँच पुग्न सकेको छैन्, साँधीखर्कको गुराँसेडाँडामा नेपाल टेलिकमको मोवाईल फोनको सामान्य पहुँच छ, आधार शिविर पुगेर फर्कने करिब दुईदिनको यात्राअवधिमा सञ्चार सम्पर्क विच्छेद हुने भएकाले पर्यटकको सुविधा र सुरक्षाका लागि सञ्चारको पहुँच अनिवार्य बनेको छ’’– पर्यटन व्यवसायि गुरुङले भन्नुभयो । वि.स. २०६८ देखि स्थानीयबासीको अग्रसरतामा नारच्याङगाउँदेखि अन्नपूर्ण प्रथम आधार शिविरसम्म पदमार्ग निर्मांण सुरु भएको थियो ।


गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको र हुमखोलादेखि १६ किलोमिटर दूरीमा पदमार्ग निर्माण गरी ठाउ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो नै लाग्ने गरेको छ । आधार शिविरको मनोरम पञ्चकुण्ड तालसंगै झरना, खोला, र रमणीय भू–वनोटका कारण पर्यटकहरुको आगमन बढेको र होटलको क्षमता भन्दा बढी पर्यटकहरु आउँदा होटल व्यवसायिहरुलाई पर्यटकहरुको खाना र बसोबासको प्रवन्ध मिलाउन हम्मे हम्मे हुने गरेको छ । अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेपनि विद्युत र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार र सडकमार्गको स्तरोन्नती तत्काल गर्नेपर्ने देखिएको विराटनगरबाट समूहमा भ्रमणमा आउनुभएका मोहन अटलले गुनासो गर्नुभयो । पदमार्ग क्षेत्रमा रहेका होटलहरुमा बुकिङ गर्न मोवाईल फोन र इन्टरनेटको पहुँच पु¥याउनतर्फ सरकार र सरोकारवालाहरुको ध्यान जानुपर्ने बताउनुभयो ।


यस पदमार्ग अन्तर्गत हुमखोला, फुतफुते झरना, साँधीखर्क, गुफाफाँट, भुसकेटमेला र पञ्चकुण्ड ताल परिसरमा टेन्टमा बस्ने सुविधा सहितको होटलहरु सञ्चालनमा रहेका छन् । सञ्चार संगै विद्युत सुविधा नहुँदा खाना पकाउने ग्याँस र बत्तिको लागि जेनेरेटरको व्यवस्था गर्दा खर्चिलो र झण्झट व्यहोर्नु परेको होटल व्यवसायिहरु बताउँछन् । कम्तीमा दुईदिनको पदयात्रा अवधिमा पर्यटकहरु सञ्चार सम्र्पकबाट विच्छेद हुँदा विरामी भएको र हिमपातको कारण अलपत्र परेको समयमा उद्धारमा समेत समस्या हुँदै आएको छ । हिमाल आरोहणमा आउने टोलीले स्याटेलाइट प्रविधिको फोनको प्रयोग गर्ने गरेपनि अन्य पर्यटकहरुमा सञ्चार सम्पर्कको माध्ययम र पहुँच छैन् ।

हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय रहनुभएका पर्यटन व्यवसायि इन्द्रसिंह शेरचनले दुई दिनको पदयात्रा अवधिमा सञ्चार सम्पर्क नहुँदा पर्यटकहरु बेखवर हुने भएकाले आपतकालिन समय र विरामी भएको समयमा उद्धारमा सकस हुने गरेको बताउनुभयो । ‘‘ पर्यटकहरु घुम्न आएको समयमा बेमौसममा हिमपात हुन सक्छ, हिमपहिरो नै जान पनि सक्छ, आपतकालिन रुपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन, पर्यटकहरुको हराएको समयमा धेरै पटक खोजी कार्यमा सञ्चार नहुँदा कठिन हुने गरको छ, पदमार्गमा रहेका होटलहरुमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोन राख्न आबश्यक छ’’– उहाँले भन्नुभयो ।

नेपालको पर्वतारोहण इतिहासमा सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । पर्वतारोहणको क्षेत्रमा इतिहास बोकेको यस पदमार्गको पहिचान गरि पदमार्ग, आश्रयस्थल, टिसप, होटल लगायतका पूर्वाधार बनेर प्रचार प्रसार हुन थालेपछि अहिले यस पदमार्गमा पर्यटकको आगमन बढेको छ । विगतका बर्षमा खाना र बस्नको लागि आफै बन्दोबस्तीको सामान बोकेर जानुपर्ने बाध्यता होटलहरु सञ्चालनमा आएसंगै हटेपनि सञ्चार र विद्युतको पहुँच विस्तारमा लाग्नुपर्ने आबश्यकता देखिएको छ ।