घारमा मुढा बुनाई तालिम 

  • १७ माघ २०८१, बिहीबार
  • 415 पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ ।­

खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

तालिममा रघुगङ्गा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सिप प्रदान  गर्नुभएको थियो । गाउँघरमा पाइने बाँसबाट मुढा बनाउने सिप सिकाइएको हो । गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुन, शिक्षा अधिकृत गणेशबहादुर कटुवाल लगायत जनप्रतिनिधीहरुको उपस्थितिमा तालिम समापन गरिएको थियो ।

तालिमले स्थानीय स्तरमा आवश्यक मुढाको तयार पार्ने सिपयुक्त जनशक्ति तयार, खेर गइरहेको बाँसको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्न सहयोग पुगेको बताइएको छ । 

तालिम समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुन, वडा अध्यक्ष खड्का, शिक्षा अधिकृत कटुवालले सिकेका सिपलाई ब्यवसायमा रुपान्तरण गर्न आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकामा रहेका सामुदायिक सिकाई केन्द्रहरुले सिपमुलक तालिम, आयआर्जन वृद्धि र नेतृत्व तथा क्षमता विकास सम्बन्धी कार्यक्रम गर्दै आएका छन् ।