माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा कुल प्रसाद पुन चयन

  • ९ पुष २०८१, मंगलवार
  • 611 पटक पढिएको

म्याग्दी, ९ पुष । नेकपा (माओवादी केन्द्र) मंगला गाउँपालिका कमिटिको अध्यक्षमा कुल प्रसाद पुन चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरमा मंगलवार सम्पन्न तेस्रो सम्मेलनबाट पुनको नेतृत्वमा सर्वसम्मत रुपमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको हो ।


कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका चयन हुनुभएको छ । त्यसैगरि कमिटीको सहसचिमा शान्ति चाचाङ्गे र कोषाध्यक्षमा श्याम बहादुर थापा रहनुभएको छ । सम्मेलनको उद्घाटन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलले प्रचण्ड नेतृत्वको सरकारले भष्ट्राचार नियन्त्रण, सुशासन कायम र सामाजिक न्याय सहितको विकासबाट एमाले र काँग्रेस आत्तिएर नयाँ गठबन्धन गरेको बताउनुभयो ।

उहाँले उपनिर्वाचनले ठुला दल भनिएका एमाले काँग्रेसको जनमत घट्दो र प्रमुख प्रतिपक्ष माओवादीको जनमत बढ्दो देखिएको बताउँदै जनताको जनजिविका सहितको राजनीतिक मुद्दा माओवादीसंग मात्रै रहेको बताउनुभयो ।


कार्यक्रममा पार्टीका गण्डकी प्रदेश सहसचिब टेकबहादुर विक (सुवास) र गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य रेशम जुग्जाली(सुविन)ले म्याग्दीको विकासमा माओवादी जनप्रतिनिधिको भूमिकाले जनतामा आसा र भरोसा जागेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य गम श्रीष, पार्टीका गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य लालु किसान, अर्जुन थापा, गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, युवा नेता पुनम खड्का, चन्द्रप्रसाद बुढाथोकी, ज्येष्ठ कम्युनिष्ट मञ्चका भिमबहादुर बानियाँ लगायतले आगामी निर्वाचनमा पार्टीलाई बैकल्पिक र बलियो शक्तिको रुपमा स्थापित गर्ने गरि संगठन निर्माण र विस्तारमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो । याम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेम गिरीले स्वागत र पृथलाल विकले सञ्चालन गर्नुभएको थियो ।