चिमखोलामा स्वास्थ्यचौकी भवन उद्घाटन (फोटो फिचर)

  • २१ मंसिर २०८१, शुक्रबार
  • 415 पटक पढिएको

म्याग्दी , २१ मङ्सिर । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्थानीयले खुसीयाली मनाएका छन् । गाउँपालिका र संघीय सरकारको रु १ करोड ७९ लाख ३९ हजार ३२ लागतमा दुइतले सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
भवन निर्माण भएर सेवा सुचारु भएपछि एक समारोहका बिच स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा स्थानीयले नौमती बाजा सहित नाचगान गरेर खुसीयाली मनाएका हुन् । नयाँ भवनबाट सरल र सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सुविधा पुगेको स्थानीय ६४ बर्षिय मनिराम पुनले बताउनुभयो ।
चिमखोलाको मलाङमा स्थानीयको रु १० लाख र रघुगङ्गा गाउँपालिकाको रु १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गर्ने र सम्माएर व्यवस्थापन गर्ने काम गरिएको थियो । भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले आबश्यक सामाग्रीको बन्दोबस्त गरि नवनिर्मित भवनबाट सेवा सुभारम्म गरिएको बताउनुभयो ।
उहाँले भवनमा थप औजार उपकरण र औषधीहरुको उपलब्धता गराएर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको समेत सेवा विस्तार गर्ने तयारी गरिएको जानकारी दिनुभयो । भवन बनाउन रघुगङ्गा गाउँपालिकाले रु एक करोड ५ लाख ४० हजार ४४२ र संघीय सरकारको विशेष अनुदानबाट रु ७३ लाख ९८ हजार ५९० लगानी भएको छ ।
आर्थिक बर्ष २०७८÷७९ देखि निर्माण सुरु भएको स्वास्थ्य चौकी भवन दुई चरणमा ठेक्का लगाएर निर्माण गरिएको हो । भवनको तला थप गर्न र भवनको सम्पूर्ण निर्माण सम्पन्न गर्न भगवती÷मालिका निर्माण कन्ट्रक्सनले ठेक्का लिएको थियो भने स्थानीय निर्माण व्यवसायि प्रदिप पाईजाले कामको जिम्मा लिएर निर्माण सम्पन्न गर्नुभएको हो । उद्घाटन समारोहमा निर्माण कम्पनीका प्रतिनिधि बिजय भट्टचनाले स्वास्थ्य चौकी भवनको चाबी गाउँपालिका अध्यक्ष भण्डारीलाई हस्तान्तररण गर्नुभएको छ ।
भवनमा विरामी चेकजाँच, बर्थिङ सेन्टर, औषधी भण्डारण, कर्मचारी आवास लगायतको लागि छुट्टाछुट्टै कोठाको व्यबस्था गरिएको छ । भवनको सुरक्षाको लागि पर्खाल निर्माण, तारबार, रङरोगन संगै विद्युत्, खानेपानी जडान गरिएको छ । खुला ठाउँ र फराकिलो कोठाहरु रहेकाले विरामीहरुको चेकजाँच गर्न र सेवाग्राहीलाई समेत सहज रुपमा स्वास्थ्य सेवा लिने सुविधा पुगेको स्वास्थ्य चौकीका प्रमुख हिस्टुरी पाईजाले जानकारी दिनुभयो ।
नवनिर्मित स्वास्थ्य चौकी भवनमा बर्थिङ सेन्टर संगै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानको लागि आबश्यक सामाग्री, उपकरण तथा जनशक्तिको व्यवस्थापन गर्ने वडा कार्यालयको तयारी छ । विभिन्न टोल बस्तीमा छरिएको चिमखोलामा नागरिकलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि यस अघि चिमखोलाको पात्लेखेतमा सामुदायिक स्वाथ्य इकाई स्थापना गरिसकिएको छ भने नामेला बस्तीमा समेत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न लागिएको वडा अध्यक्ष थकबहादुर पाइजाले जानकारी दिनुभयो ।
रघुगंगा गाउँपालिकामा वडा नम्बर १ बेग बाहेकका सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । भौगोलिक बिकटता रहेको र स्वास्थ्य चौकीमा पुगेर सेवा लिन घण्टौ हिड्नु्पर्ने ठाउँका नागरिका लागि गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिरहेको छ ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले भवन बनेसंगै स्वास्थ्य चौकीको सेवा प्रवाहमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जा, वडा नम्बर २ का अध्यक्ष अमृत भण्डारी,गाउँपालिकका स्वास्थ्य शाखा संयोजक टिकाबहादुर शाही, चिमखोला समाज पोखराका अध्यक्ष मिनबहादुर थापा, चिमखोलाका पूर्व अध्यक्ष देउप्रसाद पुन, स्वास्थ्य स्वयंसेविका दुतकुमारी पुन लगायतले मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य चौकीका शुष्मा पौडेलको स्वागत र हिस्टुरी पाईजाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीयबासी, आमा समूह, पुख्र्यौली समूह, कर्मचारी लगायतले नृत्य प्रस्तुत गरेका थिए भने भवनको जग्गा खरिदमा सहयोग गर्ने सहयोगदाता र भवन निर्माण गर्ने निर्माण व्यवसायि समेतलाई सम्मान गरिएको थियो ।