बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध

  • ९ भाद्र २०८१, आईतवार
  • 725 पटक पढिएको

 

म्याग्दी ८ भदौ । गयराती परेको भारी बर्षाको कारण म्याग्दीका मुख्य सडक अबरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरो र बाढीको कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठण्माडौ लगायतका ठाउँमा सवारी ओहोर दोहोर गर्ने बेनी–मालढुंगा र बेनी –बागलुङ सडक अबरुद्ध भएका छन् ।

त्यसैगरि म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीको मालिका, मंगला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्डमा बाढी र पहिरोले सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अबरुद्ध बनेपछि लामो तथा छोटो दुरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरुलाई सकस भएको छ ।


बेनी दरबाङ सडकखण्ड अन्तरगत सिंगा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरो लगायतका ठाउँमा पहिरो खसेको छ । त्यसैगरि बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वर, सिरुवारी,कुनौटा, गुइठे, खामभित्ता लगायतका ठाउँमा पहिरो खसेर सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझिले जानकराी दिनुभयो ।
गयराती परेको अबिरल बर्षाको कारण बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हवल्दार मणिराम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ ।
बाढीले सडक अबरुद्ध भएपछि गयराती पोखराबाट बेनी आउँदै गरेको ग २ च ९३५५ नम्बरको स्कार्पियो जीपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरुलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो ।
ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो । सडक कालोपत्रे गर्ने समयमा नै ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरि पूर्वाधार बनाउन ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएकाले बाढीले क्षति पु¥याएको स्थानीय कमला खत्रीले जानकारी दिनुभयो ।
सोही बाढी बस्तीतर्फ पसेपछि बेनी नगरपालिका– १ आनन्दबगरका तीन वटा घर पुरेको छ । स्थानीय सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो । सेती थापाको दुई तलासम्म बढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा क्षति भएको छ ।