मीना परियार हत्या प्रकरण : ‘न्यायका लागि हारगुहार’
- ८ भाद्र २०८१, शनिबार
- 787 पटक पढिएको
कमल खत्री/सन्तोष गौतम
म्याग्दी, ८ भदौ : म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । २०८० पुष १६ गते राती घरवाटै वेपत्ता कान्छी छोरी मीना जिउदो नभएको निष्कर्ष निकालेका परियार दम्पत्ती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जंगलमा गत साउन २७ गते भेटिएको शव र सँगैका गहना तथा कपडालाई मीनाको भएको सनाखत गरेका उनिहरु न्यायका लागि हारगुहार गरिरहेका छन् ।
“छोरीको खोजविन र न्यायका लागि भौतारिन थालेको करिब आठ महिना भयो,” फुलमाया भन्नुहुन्छ “साउन २७ गते गाउँ नजिकैको आँखखेत कालीमुलको जंगलमा गाडेको, सडेगलेको अवस्थामा भेटिएको शब, सिक्री, स्विटर, चप्पललगायतका सामग्री मिनाकै भएपनि सबै दोषीलाई पक्राउ र अनुसन्धानमा भएको ढिलाईले कतै न्याय नपाइने त होइन् भन्ने शंकामा छौ ।”
चन्द्रबहादुर र फूलमायाका तीन छोरी र एक छोरा मध्य कान्छि मीना तोरीपानीको गलेश्वर माविको कक्षा १२ मा पढ्थिन् । गंगटो खोज्न गएका स्थानीयले देखेको बेनी नगरपालिका–९ र १० नम्बर वडाको सिमानामा पर्ने उत्तिसको जंगलमा भेटाएको शव र सामग्रीलाई संकलन गरेर प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गरेको छ । मिनाको ज्यान लिने कसुरमा संलग्नलाई कारबाहीको सुनिश्चित नभएसम्म शवको दाहसंस्कार नगरी बेनी अस्पतालका शव गृहमा राखेको मिनाकी भाजु कमला बर्देवा परियारले बताउनुभयो ।
‘‘अहिलेसम्म हत्याराहरु सार्वजनिक गरिएको छैन, एउटा मान्छले मात्रै यसरी घटना घटाएको होइन, न्यायका लागि धाउदा धाउँदै थाकिसकेका छौँ’’– कमलाले भन्नुभयो “छिमेकी राम खत्रीको प्रेममा रहेकी मिना करिब छ महिनाको गर्भवती भएको उनीहरु दुई जनाबिच बेपत्ता हुँदाको राती भएको म्यासेन्जर कुराकानीबाट प्रमाणित भएको छ ।” २५ वर्षीय राम बिवाहित हुन् ।
अनुसन्धानको चरन :
परिवार, आफन्त र नातागोता सबैको क्षमताले भ्याएसम्म खोजतलास गर्दा मिनाको अवस्थाबारे पत्ता लाग्न नसकेपछि वि.स. २०८० पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा हुलिया सहित खोजतलासको लागि निवेदन दिएका थिए । अनुसन्धानकै क्रममा मिना र रामको ‘म्यासेन्जर’ कुराकानी भेटिएपछि माघ २१ गते मिनाका बुवा चन्द्रबहादुरले रामले छोरीलाई वेपत्ता बनाएको किटानी जाहेरी दिनुभयो ।
जाहेरी परेको दुई दिनपछि माघ २३ गते मुद्दा दर्ता गरेको प्रहरीले सोही दिन आरोपी रामलाई पक्राउ गरेको थियो । व्यक्ति वेपत्ता पार्ने कसुरमा जिल्ला अदालत, म्याग्दीको २०८० फागुन १७ गतेको थुनछेक आदेशबाट राम पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
शव भेटिएपछि घटनाले नयाँ मोड लियो :
साउन २७ गते मिनाको शब भेटिएपछि यो घटनाले नयाँ मोड लिएको छ । थुनामा रहेका राम सहित उनका परिवारका सदस्य र आफन्त सहित पाँच जनालाई प्रतिबादी बनाएर मिनाका परिवारले साउन ३० गते दर्ता गरेको किटानी जाहेरीको आधारमा थप तीन जनालाई फरक÷फरक मितिमा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको निरीक्षक राजन रायमाझीले बताउनुभयो ।
“पहिले व्यक्ति वेपत्ता बनाएको कसुरमा मुद्दा चलाएपनि भेटिएको शबको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ,” उहाँले भन्नुभयो “मिनासंगको प्रेम सम्वन्ध स्विकार गरेका आरोपी रामले प्रहरी, सरकारी वकिल कार्यालय र अदालतमा भने वेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएका छन् ।” फरार एक जनाको खोजी भइरहेको छ ।
चिकित्सकको शव परिक्षण, बिधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, शवसँगै भेटिएका सामग्री, म्यासेन्जर कुराकानी लगायतका तथ्य, प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको रायमाझीले बताउनुभयो । उहाँका अनुसार भेटिएको शब महिलाको भएको, धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुण समेत रहेको पुष्टी भएको छ । घटनाको थप अनुसंधान गर्नका लागि डिएनए परिक्षणका लागि प्रहरीको विधी विज्ञान प्रयोगशालामा पठाउने तयारी गरिएको रायमाझीले बताउनुभयो ।
‘न्यायका लागि हारगुहार’ :
मिना हराएदेखि नै यस घटनामा प्रहरी प्रशासनले गम्भिरताका साथ अनुसन्धान र खोजतलास नगरेका कारण अवस्था पत्ता लगाउन र न्यायमा ढिलाई भएको भन्दै पिडित पक्षले तत्कालीन गृह तथा उपप्रधानमन्त्री रवी लामिछाने, विभिन्न राजनीतिक दलका नेता, सांसद र अधिकारकर्मीहरुलाई भेटेर दवाव दिएका थिए । पक्राउ परेका आरोपीलाई सार्वजनिक, थप आरोपी पक्राउ, सत्य, तथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्यायका लागि दबाब दिन बेनीमा पछिल्लो एक हप्तायता दैनिकजसो धर्ना र प्रर्दशन भइरहेको छ ।
अन्तरजातीय प्रेम सम्वन्ध हुँदै गर्भवती बनाएपछि नियोजित रुपमा हत्या गरेको प्रमाणहरु भेटिएपनि प्रहरीले गहिरो गरी अनुसंधान नगरेको कारण न्यायका लागि हारगुहार गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका सल्लाहकार लालु किसानले बताउनुभयो ।
‘‘दलित भएकै कारण किटानी लिएर जाँदा यो र त्यो मिलेन भन्दै पन्छाउने काम भयो, सांसद र मन्त्रीलाई गुहार मागेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो,” उहाँले भन्नुभयो “न्याय पाइन्छ भनेर आश्वस्त हुन सक्ने अवस्था नभएकाले दवाव र खवरदारी गरिरहेका छौ ।”
संयुक्त राजनीतिक दलित संघर्ष समितिले शुक्रबार बेनीमा राजनीतिक दल र जनप्रतिनिधिसंग मिना हत्या प्रकरणमा दोषिमाथि हदैसम्मको कारबाही हुने सुनिश्चिताको प्रतिवद्धताका लागि छलफल तथा अन्तरक्रिया गरेको थियो । दोषिमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिन आ–आफ्नो क्षेत्रबाट सम्बन्धित निकायमा ध्यानकर्षण गराउने छलफलमा सहभागी राजनीतिक दल र जनप्रतिनिधीले प्रतिवद्धता जनाएका छन् ।
संघर्ष समितिका अध्यक्ष पदम किसानले मिनाको हत्या घटनामा संलग्नलाई कारबाहीको सुनिश्चितता नभएसम्म विभिन्न दबाबमुलक कार्यक्रमलाई जारी राख्ने र आबश्यक परे चरणबद्ध आन्दोलन गरिने बताउनुभयो । संविधान र कानुनले जातीय विभेद तथा छुवाछुतलाई अपराध मानेपनि अन्तरजातीय प्रेम र बिवाहका कारण व्यक्तिको हत्या, आत्महत्या, बिस्थापित हुने अवस्था आउनुले पिडा र समाजमा अझै चेतनाको स्तर उकास्नुपर्ने आवश्यकता महशुस भएको दलित अगुवा टेकबहादुर विश्वकर्माले बताउनुभयो । रासस