म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर

  • ७ भाद्र २०८१, शुक्रबार
  • 305 पटक पढिएको

म्याग्दी , ७ भदौ । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । बेशीँदेखि हिमाली क्षेत्रसम्मको भूगोलमा फैलिएको यस जिल्लामा हिउँदे र बर्खे गरी दुई सिजनमा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलु खेतीको विस्तार र व्यावसायिकता बढेसंगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारी खेतीको रुपमा समेत आलुले स्थान लिएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लामा कुल १ हजार ७ सय हेक्टर जमिनमा आलु खेती हुँदै आएको छ । हिउँदे आलु अधिकाँश जिल्लामै खपत हुने भएपनि बर्खे आलु भने अधिकाँश जिल्लाबाहिर निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।


म्याग्दीको जनसंख्या अनुसार, सरदर बार्षिक ३ हजार ३ सय मेट्रिक टन आलु जिल्लामा खपत हुने र अरु सबै आलु जिल्लाबाहिर निर्यात हुने उहाँको भनाई छ । जिल्लाबाट निर्यात हुने कृषि उपजमा आलु प्रमुख स्थानमा आएको छ । जिल्लाबाट धेरै परिमाणमा निर्यात हुने कृषि उपजमा आलु र सुन्तलाले ठुलो हिस्सा ओगटेको छ । जिल्लाको लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोसिलो हुने भएकाले बर्खे आलुमा जिल्लाबाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको कृषकहरु बताउँछन् ।

जिल्लाको ६ वटै स्थानीय तहमा आलु खेती हुने गर्छ । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्धार, रघुगंगा गाउँपालिकाको कुइनेमंगले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्ली लगायतका ठाउँमा उत्पादन भएको आलु धेरैजसो पोखराका बजारमा पुग्ने गर्छ । सवारी साधनको पहुँच पुगेपछि गाउँ गाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको र पछिल्लो समय पोखराका बजारसम्म आलु पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका– ८ का कृषक खम बहादुर पुनले बताउनुभयो ।

‘‘ कुनै समय आलु विक्रि नभएर कुहिएर जान्थ्यो, आज गाडीबाट गाउँमै आलु खोज्न आउनेहरु पनि छन, बेनी, कुस्मा र पोखरा कृषक आफैले ढुवानी गरेर विक्रि गर्न पनि लैजाने गर्छौ, उत्पादन भएको आलुको विक्रि नहुने चिन्ता छैन’’– उहाँले भन्नुभयो । आलु खेतीबाट जिल्लाका किसानहरुले नगद आम्दानी समेत गर्दै आएका छन् । आलु अहिले नगदे खेतीको रुपमा विस्तार हुन थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट एक बर्षमा कुल ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन गरिएको हो । गण्डकी प्रदेश सरकारले म्याग्दीमा आलु खेतीलाई प्राथमिकतामा राखेर आलु खेती संग सम्बन्धीत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत बर्ष सञ्चालन भएको खायन आलु प्रवद्र्धन कार्यक्रम मार्फत १ हजार ६ सय ८३ दशमलव ९३ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब एक सय हेक्टर क्षेत्रफलको जमिनमा आलु खेती विस्तार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। जिल्लाको पहाडी भेगमा हिउँदे र माथिल्लो उच्च पहाडी क्षेत्रमा बर्खे आलु खेती हुँदै आएको छ । स्थानीयले परम्परागत रुपमा निर्वाहमुखी रुपमा गर्दै आएको आलु खेतीमा स्थानीय र प्रदेश सरकार मार्फत विउ, मेसिन उपकरण तथा रोगकिरा व्यवस्थापनमा अनुदान र उपचार सेवा पाउन थालेपछि कृषकहरुले आलुखेतीलाई व्यावसायिक बनाउन थालेका छन् ।

अहिले बर्खे आलु विक्रि भैरहेको छ भने आलुको प्रतिकिलो बजार मुल्य ६० देखि ९० रुपैयाँसम्म रहेको छ । जिल्लामा आलु खेतीमा रहेको सम्भावनालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले यस बर्ष खायन आलु खेतीको लागि रु १ करोड २० लाख बजेट विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्र कार्यालयले सञ्चालन गर्ने कार्यक्रममध्ये यो सबैभन्दा ठूलो बजेट हो । यस कार्यक्रमलाई समूह, सहकारी मार्फत जिल्लालाई आलुमा आत्मनिर्भर बनाउने गरी परिचालन र कार्यान्वयन गर्ने कार्यालयले जनाएको छ । म्याग्दीमा आलु जोन कार्यक्रमले समेत अन्नपूर्ण र रघुगंगा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नम्बर ९ र १० मा आलु खेती विस्तारमा सहयोग गर्दै आएको छ ।