धौलागिरि आइसफल पदमार्गका मनोरम ताल तलैया ओझेलमा

म्याग्दी , २४ साउन । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गमा रहेका मनोरम ताल तलैयाहरु ओझेलमा परेका छन् । वि.स. २०६८ सालमा पहिलो पटक सम्भाव्यत्ता अध्ययन गरिएको यस पदमार्गको प्रवद्र्धन र पूर्वाधार निर्माणको अभियानले पूर्णता नपाउँदा आइसफल पदमार्गमा रहेका मनमोहक तालहरु ओझेलमा परेका हुन् ।
पदमार्गका मुख्य आकर्षणको रुपमा रहेका उच्च हिमाली क्षेत्रका ताल तलैयाहरु सुविधायुक्त पदमार्ग लगायतका पर्यटन पूर्वाधारको अभाबमा ओझेलमा परेको चिमखोलाका स्थानीय युवा ओम पुनले बताउनुभयो । ‘‘ हिमालको फेदीदेखि पहाडका टाकुराहरुमा मनमोहक तालहरु छन, तर आधार शिविर हुँदै यि तालहरुमा पुग्न व्यवस्थित पदमार्ग निर्माणले पूर्णता पाएको छैन’’–पुनले भन्नुभयो ।
धौलागिरि आइसफल आधार शिविरमा मनमोहक निली बराह ताल रहेको छ । धौलागिरि हिमालको फेदीमा रहेको यो तालले पर्यटकहरु लोभ्याउने गरेको छ । यस तालको पानीको रंग निलो देखिन्छ । जमिनमाथिको भागमा रहेको यो तालमा पानीको स्रोत नदेखिएपनि ताल कहिल्यै नसक्ुने अनौठो विशेषता रहेको चिमखोलाका अगुवा गमबहादुर पुनले बताउनुभयो । धौलागिरि आइसफल पदमार्ग अन्तरगत कालीबराह ताल अर्को आकर्षणको रुपमा रहेको छ । वरिपरी हिमाली भू–भागले ढाकिएको कालीबराह ताल समुद्री सतहदेखि ४ हजार तीन सय मिटर उचाईमा अवस्थित छ । अधिकाँश महिना हिउँले ढाकिने यो क्षेत्र बर्खायाममा बुकीका रमणीय फूलहरुले रङ्गिएको छ ।
आधार शिविर र चिमखोलाको कालीबराह खोलाको दोभानबाट एक दिनको पदयात्रामा पुग्न सकिने कालीबराहमा मुस्ताङको लेतेबाट समेत परम्परागत गोठ र भोट जाने पदमार्ग जोडिएको छ । कालीबराहमा जनपूर्णिमाको अवसरमा विशेष पुजा आजा समेत हुने गर्छ ।
भाकल गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास रहेको कालीबराह ताल परिसरमा बराह थान समेत रेहको छ । कालीबराह नजीकै पहाडको टाकुरामा रहेको पहेँली बराह ताल करिब समुद्री सतहदेखि ४ हजार ७ मिटर उचाइमा रहेको छ ।
हिउँदयाममा चिसोले जम्ने यो ताल पर्यटकहरुका लागि उत्कृष्ट आकर्षणको रुपमा रहेको छ । यस पदमार्गमा निली बराह, कालीबराह, पहेँलीबराह ताल संगै लाटीबराह , सेतीबराह र मनिबराह ताल समेत पदयात्रामा आउने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको स्थानीय कृष्ण पाईजाले जानकारी दिनुभयो । यहाँका ताल तलैयामा हुने पानीको रङ र बराहको नामबाट तालहरुको नामाकरण गरिएको छ भने स्थानीयले ताल तलैयामा भारा पुजा गर्ने चलन रहेको उहाँको भनाई छ ।
धौलागिरि आइसफल पदमार्ग अन्तर्गत अहिले रघुगंगा गाउँपालिका–७ चिमखोलाको ससलधारादेखि धौलागिरी हिल भ्यू पोइन्ट सम्मको बाटोमा व्यवस्थित पदमार्ग निर्माण भएको छ । यस बिचमा रहेकोे कोखेभिर र धौलागिरि भ्यू पोइन्ट हिलबाट आधार शिविर जाने अक्करे पहाडमा पदमार्ग छिचोल्न बाँकी रहेको छ भने आधार शिविरबाट पहँेलीबराह, कालीबराह हुँदै लेते जाने परम्परागत गोरटो बाटोमा व्यवस्थित पदमार्ग बन्न नसकेको पाईजाले जानकारी दिनुभयो ।
भिरमा पदमार्ग नहुँदा रघुगंगा नदिनलाई दुई ठाउँमा वारपार गर्नुपर्ने र भिरमा डोरीको सहायता लिनुपर्ने बाध्यता छ । यस पदमार्गमा कालीबराह खोला र धौलागिरि भ्यू पोइन्ट हिल लगायतका ठाउँमा झोलुङ्गे पुलको अभाब रहेको छ । रघुगंगा गाउँपालिकाले १ सय २२ किलोमिटर लामो आइसफल पदमार्गको डिपिआर निर्माण गरेको छ । डिपिआर अनुसार पदमार्ग, आश्रयस्थल, झोलुङ्गे पुल लगायतका पूर्वाधार निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने जमर्कोमा गाउँपालिका जुटेको गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीले जानकारी दिनुभयो । ‘‘ आइसफल पदमार्गमा गत बर्षसम्म संघीय सरकारबाट पदमार्ग बनाउने योजना सञ्चालन भएको थियो, तर त्यसले पूर्ण रुपमा पदमार्गलाई पूर्णता दिन सकेन, हामीले गुरुयोजना नै बनाएर स्थानीय, प्रदेश र संघीय सरकारको लगानीमा पदमार्ग बनाउन पहल थालेका छौँ’’–अध्यक्ष भण्डारीले भन्नुभयो ।
धौलागिरी हिमालको आधार शिविर, धौलागिरि र अन्नपूर्ण हिमशृङखलाका मनमोहक हिमशृङ्खला, हिम चुचुराबाट हिउँ खसेको आइसफलको दृष्य संगै ग्लेसियर, रघुगंंगा नदिको मुहान, सुन छहरा, गुफा, ओढार र अग्डा डाँडाकाँडाको मनोरम दृष्यले यस पदमार्गमा आउने पर्यटकहरुलाई लोभ्याउने गरेको छ । रासस