म्याग्दीमा आठ किलोमिटर सडक कालोपत्रे

  • ८ श्रावण २०८१, मंगलवार
  • कमल खत्री
  • 315 पटक पढिएको

म्याग्दी , ८ साउन । म्याग्दीमा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालन भएका आयोजनाहरुबाट आठ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनाहरु मार्फत ८ दशमलब १८२ किलोमिटर सडक कालोपत्र र ४ दशमलब २७३ किलोमिटर सडक ढलान भएको हो।

सडक स्तरोन्नती आयोजनाहरु मार्फत सडक ढलान, कालोपत्रे र सडकको पहुँच विस्तारको काम भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकार मार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्ड अन्तरगत मंगला गाउँपालिका– २ सिम देखि तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमाना सम्म ३ किलोमिटर ८०० मिटर सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

त्यसैगरि ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ अन्तरगत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवति खण्डमा ५ किलोमिटर डिबीएसडी प्रविधिको कालोपत्र र ५०० मिटर ढलान भएको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाको ३ वडाका ३ हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा ४२४ मिटर सडक कालोपत्र भएको छ ।

त्यसैगरि मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्म ६ किलोमिटर ६०० मिटर सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ । नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ति सुधार र ढलान भएपछि धवलागिरी गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीय किरण थापाले बताउनुभयो ।

कार्यालय प्रमुख पौडेलका अनुसार एक बर्षको अवधिमा म्याग्दीमा २ वटा मोटरेबल पुल, १ वटा झोलुङ्गे पुल, ३१ वटा कल्भर्ट र १२ वटा कजवे निर्माण गरिएको छ । ११ किलोमिटर बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । १२ दशमलब २०९ किलोमिटर सडक ग्राभेल , २ किलोमिटर ३१६ मिटर नाली निर्माण र कुल १७ हजार २८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ ।

गत आर्थिक बर्षमा म्याग्दीमा अधुरा अवस्थामा रहेका पुराना बहुबर्षीय क्रमागत योजनाहरुलाई लयमा फर्काउनुका साथै ७ वटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप २ ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुबर्षिय योजना कार्यान्वयन गरिएको कार्यालयका इन्जिििनयर अर्जुन शर्माले जानकारी दिनुभयो । एक बर्षको अवधिमा क्रमागत, नयाँ बहुबर्षीय र सालबसाली सहित कुल ८० भन्दा बढी योजनाहरु कार्यान्वयन गरिउको उहाँले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l