अन्नपूर्ण गाउँपालिकामा आर्थिक बर्षको पहिलो दिनबाटै योजना कार्यान्वयन प्रकृया सुरु

  • १ श्रावण २०८१, मंगलवार
  • 157 पटक पढिएको

म्याग्दी, १ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पूँजीगत खर्चलाई बढाउन आर्थिक बर्षको पहिलो दिनबाटै योजना कार्यान्वयन प्रकृया सुरु गरेको छ । आजदेखि सुरु भएको आर्थिक बर्ष २०८१/०८२ को पहिला दिननै गाउँपालिकाले अन्नपूर्ण–८ राम्चेको वडा कार्यालय भवनमा तला थप गर्ने योजनाको ठेक्का आह्वान गरेको हो ।


गत असार १२ गते सम्पन्न भएको गाउँपालिकाको १९ औँ बजेट अधिवेशनबाट राम्चे वडा कार्यालयको तला थप गर्न रु २५ लाख बजेट बिनियोजन भएको थियो । योजनाको लागत स्टिमेट तयार गरेर ठेक्का प्रकृयाबाट कार्यान्वनयका लागि अनलाइन प्रणाली (इबिडिङ) मार्फत बोलपत्र आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
‘‘ पूँजीगत खर्चलाई व्यवस्थित र प्रभाबकारी बनाउन हामी आर्थिक बर्षको सुरुवातबाटै योजना कार्यान्वयनमा जुटेका छौँ, ठेक्का आर्फत कार्यान्वनय हुने योजनाको प्रकृया बर्खायाममा नै सक्ने र हिउँदयामको सुरुवात देखि नै काम सुरु गर्ने तयारी गरेका छौँ’’– प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । गाउँपालिकाले गत असार १४ गते नै पालिका स्तरीय दररेट निर्धारण गरेको थियो । जिल्ला दररेट निर्धारण समितिले समेत असार ३० गते नै जिल्ला दररेट निर्धारण गरेकाले योजना कार्यान्वयनमा सहजता मिलेको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक बर्षका लागि अन्नपूर्ण गाउँपालिकाको गाउँसभाले रु ५३ करोड २४ लाख ४३ हजार बजेट पारित गरेको छ । कुल बजेटको चालु तर्फ रु ३४ करोड ८५ लाख ५ हजार ( ६५ दशमलन ४५ प्रतिशत) र पूँजिगत तर्फ १८ करोड ३९ लाख ३८ हजार ( ३४ दशमलव ५५ प्रतिशत) बजेट विनियोजन गरेको छ ।