बेनीमा निःशुल्क मानसिक तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
- ९ असार २०८१, शनिबार
- 117 पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीमा शनिवार निःशुल्क मानसिक तथा प्रजनन लिड्स नेपालले मानसिक बिरामी तथा संरक्षकहरुका लागि आयोजना गरेको उक्त शिविरमा प्रजनन स्वास्थ्य सम्बन्धी ८० जना र मानसिक रोग सम्बन्धी समस्या भएका ५० जनाले स्वास्थ्य उपचार सेवा लिनुभएको छ । बेनी अस्पताल परिसरमा सञ्चालित शिविरमा स्वास्थ्य चेकजाँच संगै मनोपरामर्श र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको लिड्स नेपालका जिल्ला कार्यक्रम संयोजक निसा महतले जानकारी दिनुभयो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर अञ्जु थापा, मनोरोग विशेषज्ञ डाक्टर अनुसा मानन्धर, डाक्टर रामु सापकोटा, बरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्त लगायत स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले प्रजनन र मानसिक रोगका विरामीलाई लक्षित गरेर आयोजित शिविरले रोगको अवस्था र समयमै उपचार गरि स्वास्थ्यलाभ लिन सकरात्मक सहयोग पुग्ने बताउनुभयो ।
उहाँले बेनी नगरपालिकाले मानसिक रोगका समस्या भएका व्यक्तिहरुको निःशूल्क स्वास्थ्य विमा गरिदिने भएकाले उक्त सेवा लिनका लागि समेत आग्रह गर्नुभयो । कार्यक्रममा लिडस नेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठले मानसिक रोगका विरामी र उनका संरक्षकहरुको स्वास्थ्य सेवामा सरकारले उचित ध्यान दिनुपर्ने बताउँदै बेनी नगरपालिकाले मानसिक रोगका विरामीको निशूल्क स्वास्थ्य विमा गरिदिने नीति र बजेट स्वागत योग्य रहेको बताउनुभयो । उहाँले सरकारले सबैभन्दा तल्लो तहमा पुगेर नागरिकको स्वास्थ्य सेवासंग समन्वय गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा र सुविधा बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । लिड्स नेपालले म्याग्दी संगै बागलुङ र नवलपरमा मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विभिन्न समयमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ ।