मालिकामा ४७ करोड ७४ लाखको बजेट पारित
- ९ असार २०८१, शनिबार
- 265 पटक पढिएको
म्याग्दी, असार ८ गते । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र दरबाङमा सम्पन्न भएको गाउँसभाको १५ औं गाउँअधिवेशनमा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्तीमगरले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
गाउँसभामा उपाध्यक्ष घर्तीमगरले आगामी आर्थिक वर्षका लागि ४७ करोड ७४ लाख ४० हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान तर्फ ८ करोड ४१ लाख,ससर्त अनुदान चालु तर्फ १९ करोड ११ लाख,राश्व बाँडफाँडबाट ९० लाख,पूँजीगत ससर्त अनुदान १५ लाख,विशेष अनुदान(पूँजीगत) १ करोड ४५ लाख र समपुरक अनुदान २ करोड रुपियाँलाई बजेटको आय मानिएको छ ।
यसैगरी गण्डकी प्रदेश सरकारको समानिकरण अनुदान एक करोड ५३ लाख ५ हजार,राजश्व बाँडफाँडबाट ५७ लाख ५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख, गाउँपालिकाको आन्तरिक आय एक करोड र अनुमानित संचित कोषबाट चारकरोड रुपियाँलाई बजेटमा समाबेश गरिएको उपाध्यक्ष घर्ती मगरले सभामा जानकारी गराउनुभएको थियो ।
उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड ५५ लाख ५ हजार र पूँजीगत तर्फ १६ करोड ६८ लाख ८५ हजार रुपियाँ विनियोजन गरिएको छ ।
वडागत योजना तथा कार्यक्रमका लागि ३ करोड ८५ लाख,लागत सहभागितामा सञ्चालन हुने योजनाहरुका लागि ३ करोड ७४ लाख,४४ हजार,प्रशासकीय भवन,वडा नम्बर १ र ७ नम्बर वडा कार्यालय भवन लागि २ करोड,विपत्जन्य क्षतिबाट पुनर्निमाण तथा राहत वितरणका लागि ८० लाख र पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि दुई करोड ८३ लाख ४५ हजार रुपियाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन,पूर्वाधार विकास ,युवा स्वरोजगार,पर्यटन,सिँचाई,भवन निर्माण,उर्जा,संचार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो ।
बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्न ‘‘किसान चौतारी,जोतौं खेतबारी भन्ने नीति लिइएको छ । ‘‘खाऔं आफ्नो बारीको,नखाऔं सिमा पारीको भन्ने कार्यक्रम संचालन गरी फलफूल,तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी व्यवसायिक कृषि कार्यक्रम संचालन गरिने नीति मालिकाले लिएको छ । यसैगरी युवाको उर्जा मालिकाका औजार भन्ने मिसन कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।