अगुवा कृषकले सञ्चालन गरेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो
- ६ असार २०८१, बुधबार
- कमल खत्री
- 315 पटक पढिएको
म्याग्दी , ५ असार । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा कृषकको पहिचान बनाउनुभएको छ । १३ बर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई बिट मारेर श्रीषले स्थानीय जातका बाख्रापालन सूरु गर्नुभएको थियो । जीविकोपार्जन र स्वरोजगार बन्ने उदेश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाउनुभएका श्रीषले अहिले उन्नत जातका बोयर बाख्राको स्रोत केन्द्र स्थापना गर्नुभएको छ ।
श्रीषले सञ्चालन गर्नुभएको श्रीष पशुपालन तथा बहुउदेश्यीय कृषि फार्ममा विगत पाँच बर्षदेखि शुद्ध बोयर जातका बाख्रापालन हुँदै आएको छ । श्रीषले बोयर बाख्रा भने ९ बर्षदेखि पालन गर्न सुरु गर्नुभएको थियो । श्रीषको फार्मलाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले बाह््य स्रोत केन्द्को रुपमा समावेश गरेको छ । लामो समयसम्म मासु उपभोगका लागि बाख्रापालन गरेको र पछिल्लो समय फार्मलाई बिउका लागि शुद्ध बोयर बाख्र्रा उत्पादन केन्द्रको रुपमा विकास गरेको फार्मका सञ्चालक श्रीषले बताउनुभयो ।
श्रीषको फार्ममा अहिले ४५ वटा शुद्ध बोयर बाख्रा छन् । फार्ममा तीन वटा ब्याडे बोका छन् । फार्ममा रहेका २० वटा माउ बाख्राले पाठापाठी जन्माउँछन् । फार्मबाट बार्षिक रुपमा ५० वटा शुद्ध बोयर बाख्रा र बोका बिउको लागी विक्रि हुँदै आएको श्रीषले बताउनुभयो । ‘‘ यहाँबाट देशका विभिन्न ५५ जिल्लामा बिउको रुपमा बाख्रा लगिएको छ, बार्षिक रुपमा १७ लाख बराबरको बोयर बाख्रा विक्रि गर्दै आएको छु’’– श्रीषले भन्नुभयो । व्यवस्थित र व्यावसायिक रुपमा स्थापित यो बाख्रा फार्ममा देशका विभिन्न ठाउँबाट नयाँ किसानहरु अध्ययन अवलोकनका लागि समेत आउने गर्छन ।
बाख्रापालनको लागि श्रीषले ६० रोपनी जग्गामा घाँसका विरुवा रोप्नुभएको छ । केहि बर्ष अघिसम्म बार्षिक रुपमा १ करोड बढीको बोयर विक्रि गर्नुभएका श्रीषले पछिल्लो समय स्वदेशमा युवाहरुको अभाब र विदेश पलायन हुने क्रमले बाख्रापालनतर्फ आकर्षण घटेको कारण आफुले फार्ममा बोयर बाख्राको संख्या बढाउन समस्या भएको बताउनुभयो । ‘‘ बाख्रापालनमा लगानी, मेहनत, परिश्रम र आम्दानी सबैको चाँजो मिल्नुपर्छ, मैले बाख्रापालनबाटै घरखर्च धानेको छु, बाख्रापालनबाट म सन्तुष्ट नै छु’’–श्रीषले भन्नुभयो ।
श्रीषले बाख्रा फार्ममा खोर बनाउन मात्रै ५० लाख बढी लगानी गर्नुभएको छ । आफुले बाख्रापालन गरेपछि धेरै जना यो पेशामा जोडिन आउने र जाने क्रम भएपनि आफु भने आफ्नै घरमा आफ्नै पौरखमा रमाउन बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएर बसेको उहाँको भनाई छ । राज्यले पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान लगायतमा धेरथोर सहयोग गरेपनि पछिल्लो समय कृषि सहुलियत ऋण पाउन मुस्कील पर्ने र बिमा बापतको रकम भुक्तानिमा ढिलासुुस्ती हुँदा आफुहरु समस्यामा परेको कृषक श्रीषले गुनासो गर्नुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l