दग्नाममा सयौँ बर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

  • १६ जेष्ठ २०८१, बुधबार
  • कमल खत्री
  • 647 पटक पढिएको

 

म्याग्दी,१६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा दुई गाउँबिचमा ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पुजाको अवसरमा यस गाउँमा सयौँ बर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गो जुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ । मंगलवार दग्नामका गैरी र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको छ ।

प्रकृति पुजाको रुपमा चिनिने भुमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताउनुभयो । ‘‘ यो संस्कृति पुर्खादेखि नै चल्दै आएको छ, हरेक बर्ष भूमे पुजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’– उहाँले भन्नुभयो । दग्नाममा गैरी गाउँ, कान्छि गाउँ, माझिगाउँ र डाँडागाउँ गरि चार वटा टोल रहेपनि यस प्रतियोगितामा भने हरेक बर्ष गैरी र कान्छि गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । मंगलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा पतकाले सिंगारिएका अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए ।

पुख्यौली नाच, सोरठी भाका र पञ्चेवाजा सहितको उत्सवका विच मंगलवार विहान भुमे देवताको पुजा गरेपछी दिउँसो भुमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिंगारिएका लिङ्गाहरुलाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ । दग्नामको भूमे पुजालाई लिङ्गो जुधाइले साँस्कृतिक उत्सव बनाउने गरेको वडा अध्यक्ष पबिन गर्बुजाले बताउनुभयो ।

‘‘ भुमे पुजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरि मनाउँदै आएका छाँै, यसमा लिङ्गो जुधाई सबैको लागि रुचि र चासोको बिषय बन्ने गरेको छ, दुई गाउँबिचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सदभाव बढाउन सहयोगी बन्ने गरेको छ’’– उहाँले भन्नुभयो । दुई गाउँले लिङ्गो जुधाईलाई प्रतिष्ठाको बिषय बनाउने गर्छन् । बाँसको लिङ्गो स्थानीय दग्नाम वरपर संगै छिमेकी गाउँ राखुबाट समेत लैजाने गरिन्छ ।

स्थानीयले लिङ्गो जुधाईलाई करिब चार सय बर्ष पुरानो संस्कृति मान्ने गरेका छन् । भूमे पुजामा लिङ्गो जुधाई हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामबासीहरु गृहगाउँ फर्कने गर्छन भने छिमेकी गाउँबाट समेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन । यस पटकको लिङ्गो जुधाइको अवलोकनमा ३०० बढी सहभागी भएका थिए ।

जेठा भुमेको रुपमा चिनीने भएकाले दग्नामबासीले हरेक बर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मंगलवारको दिन पुजा गर्ने चलन छ । खासगरि खेतीबालि राम्रो होस, बाढि, पहिरो, भुक्षय जस्ता प्राकृतिक प्रकोपको सृजना नहोस भन्ने कामना गर्दै भूमे देवताको पुजा गरिन्छ । भूमे पुजाको अवसरमा स्थानीय एकता युवा क्लबले साँस्कृतिक तथा खेलकुद मेला समेत आयोजना गर्दै आएको छ । यस बर्ष दग्नाममा पूख्र्यौली नृत्य सहित विविध खेलकुद र साँस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ । रासस     तस्बिर :धनिलाल गर्वुजा

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l