राहुघाट जलविद्युतको ‘प्रेसर साफ्ट’ सुरुङ जोडियो
- ९ जेष्ठ २०८१, बुधबार
- 501 पटक पढिएको
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको ‘प्रेसर साफ्ट’ मंगलबार जोडिएको छ। एक हजार ४९ मिटर लामो प्रेसर साफ्ट ब्रेक थ्रु भएको हो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्द्धक रहेको यस आयोजनाको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित मुख्य सुरुङको आउटलेट (अन्तिम बिन्दु) देखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा पानी खसाल्ने पाइप लाइन राख्ने सुरुङ जोडिएको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले जानकारी दिनुभयो ।
‘अडिट २ र ३ को सुरुङ, ३२९ मिटर बटम र १९६ मिटर लामो भर्टिकल प्रेसर साफ्ट यसअघिनै जोडिएको थियो,’ उहाँले भन्नुभयो ‘यस आयोजना निर्माणका लागि प्रेसर साफ्टको ब्रेक थ्रु हुनुलाई अर्को महत्वपूर्ण उपलब्धि मानेका छौं।’ मुख्य सुरुङबाट आउने पानीलाई विद्युतगृहमा लैजाने पाइपलाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो । सुरुङ जोडिएपछि प्रेसर साफ्टमा पाइपलाइन जडानको काम गर्ने राहुघाटको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले जनाएको छ ।
पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ। ६ हजार २७० मिटर लामो सुरुङ मध्य अडित १ र २ जोड्ने १२५ मिटर मात्र खन्न बाँकी रहेको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। दोस्रो र तेस्रो अडिट जोड्ने ३ हजार ८३६ मिटर लामो सुरुङ गत फागुन १० गते जोडिएको थियो ।
आयोजनाको सिभिल तर्फको समग्रमा भौतिक प्रगति ५७ प्रतिशत छ। भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ। २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ। इलेक्ट्रोमेकानिकल तर्फको भौतिक प्रगति २२ प्रतिशत छ ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सिधा सडकले जोडिएको छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएल सँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलविद्युत आयोजना निर्माण अघि बढाइएको थियो।