बेनीमा रैथाने बालीबाट बनेका खानाका परिकार प्रदर्शन
- ३ जेष्ठ २०८१, बिहीबार
- 399 पटक पढिएको
म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिकाले रैथाने बालीबाट बनाइएका परिकारको पदर्शन गरेको छ । नगरपालिकाको कृषि शाखाको आयोजनामा बेनीमा दुई दिने रैथाने बालीबाट खानाका परिकार बनाउने तालिम दिइएको हो । तालिममा सहभागीहरुले तयार गरेका रैथाने खानाका परिकारलाई विहिवार पदर्शन समेत गरिएको छ ।
तालिममा सहभागीहरुले कोदो, गहुँ, आलु, भटमास, सिस्नु, फर्सी लगायतका रैथानेबालीहरुबाट विभिन्न खाजाका परिकार तयार गरेका थिए ।
रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत रैथाने बालीबाट परिकार बनाउनका लागि तालिम दिईएको नगरपालिकाका कृषि अधिकृत आकृती ढुङ्गानाले जानकारी दिनुभयो । नगरपालिकाभित्रका सामूदायिक विद्यालयमा चमेनागृह र आधारभूत तहका बालबालिकाहरुलाई दिवा खाजा बनाउँदै आएका व्यवसायी, उद्यमी तथा गृहिणीहरु समेतलाई सहभागी गराएर रैथाने बालीबाट बन्ने आधुनिक खानाका परिकार बनाउने तालिम दिइएको उहाँले बताउनुभयो ।
पछिल्लो समय आयातित खाजाका परिकारले स्वास्थ्यमा समेत असर गर्ने भएपछि स्थानीय स्तरमा रैथाने बालीका खाना तथा खाजाका परिकारको लोकप्रियता बढेको छ । रैथाने बालीको संरक्षण, प्रवद्र्धन तथा सहि उपोगमा नगरपालिकाले जोड दिएको नगरपालिकाका उपमेयर ज्योति लामिछानेले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत बालबालिकाको दिवा खाजामा रैथाने बालीका परिकारको उपयोग बढाउन सके बाहिरबाट आयातित खाद्य सामाग्री खानुपर्ने बाध्यता हट्ने र स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धनमा सघाउ पुग्ने उहाँको भनाई छ । तालिममा रैथानेबालीका विभिन्न २५ प्रकारका खानाका परिकार बनाइएको थियो । तालिममा सहभागीहरुलाई कोदोको दुनोट, केक, पिजा, अचार, भटमासको चिया, सेकुवा, अचार, फर्सीको जाम, टमाटरको केचप, सिस्नुको आइसकृमलगायतका परिकार तयार गर्न सिप सिकाइएको छ । २० जनाले सहभागीता जनाएको तालिममा सन्दीप कुमार केसीले रैथाने बालीबाट परिकार बनाउने तामिम दिनुभएको थियो । म्याग्दीमा पछिल्लो समय रैथाने बालीबाट खानाका परिकार बनाएर बालबालिकालाई उपभोग गराउने प्रयास थालिएको छ ।