रितुङ्ग माविमा आफन्तको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना
- २२ बैशाख २०८१, शनिबार
- 747 पटक पढिएको
म्याग्दी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन उक्त अक्षयकोष स्थापना गरेका हुन् ।
दिवंगत छन्त्याल दम्पतीको घरपरिवारको तर्फबाट भिमबहादुर छन्त्याल, समाया छन्त्याल, सतिमा छन्त्याल, कमल छन्त्याल, मन छन्त्याल, बिमल छन्त्याल, गिता छन्त्याल, रिता छन्त्याल लगायतले पहिलो चरणमा रु पाँच लाख राशीको ‘रामबहादुर हल्जना छन्त्याल स्मृति रितुङ्ग मावि अक्षयकोष’ स्थापना गर्नुभएको विद्यालयका शिक्षक याम घर्तिमिरेले जानकारी दिनुभयो ।
शुक्रवार विद्यालयमा आयोजित अक्षयकोष स्थापना समारोहमा कोष स्थापनाकर्ता परिवारको तर्फबाट सतिमा छन्त्याल र गिता छन्त्यालले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष पदमबहादुर छन्त्याल र प्रअ खिमबहादुर छन्त्याललाई उक्त अक्षयकोषको रकम हस्तान्तरण गर्नुभएको थियो । अक्षयकोषको व्याज रकमबाट बार्षिक रुपमा विद्यालयमा अध्ययनरत दुईजना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति स्वरुप शैक्षिक सामाग्री वितरण गरिने विद्यालयले जनाएको छ ।
विद्यालयको शैक्षिक विकासमा अषयकोषले रचनात्मक सहयोग पुग्ने भन्दै विद्यालयले अक्षयकोष स्थापना गर्ने परिवारलाई धन्यबाद ज्ञापन गरेको छ ।