तीन दशकपछि गाउँ फर्किएका दम्पतीले गरे मल्कबाङमा दुई लाख बढी सहयोग

  • २८ फाल्गुन २०८०, सोमबार
  • 279 पटक पढिएको

म्याग्दी, २८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा प्रवासबाट तीन दशकपछि फर्किएका एक दम्पतीले विद्यालय,नौमती बाजा समूह, आमा समूह र पुख्र्यौली समूहलाई रु २ लाख बढी सहयोग गरेका छन् । अमेरीकामा बसोबास गर्दै आउनुभएका मनमान छन्त्याल र सावित्री छन्त्यालको दम्पतीले जनजागृति माध्यमिक विद्यालय समेतलाई गरी रु दुई लाख १० हजार पाँच सय सहयोग गर्नुभएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा जन्मनुभएका मनमान छन्त्याल २२ बर्ष लामो सिंगापुर पुलिसको जागिरबाट अवकास लिएपछि सन २००० देखि नै परिवार सहित अमेरिकामा बसोबास गर्दै आउनुभएको थियो । अमेरिका र सिंगापुर पुलिसमा कार्यरत हुँदा समेतको तीन दशकपछि गाउँ फर्कनुभएका छन्त्यालले आफ्नो माइतीगाउँ मल्कबाङमा विद्यालय सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेको बताउनुभयो ।
छन्त्याल दम्पतीले विद्यालयलाई रु १ लाख पाँच हजार, नौमती बाजा समूहलाई रु ५५ हजार पाँच सय , आमा समूहलाई रु २५ हजार र पुख्र्यौली नाचको समूहलाई रु २५ हजार सहयोग गर्नुभएको जनजागृति माविका प्रधानध्यापक सतेन्द्रकुमार यादबले जानकारी दिनुभयो । त्यसैगरि सोही अवसरमा सहयोगदाता मनमान छन्त्यालका दाजु भाउजु गमान र मनमाया छन्त्यालको दम्पतीले समेत विद्यालयलाई नगद रु ३५ हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । सहयोगदाता दुबै दम्पतीलाई विद्यालयले आजिवन सदस्यता प्रदान गरि बाजागाजा र फुलमाला लगाएर स्वागत तथा सम्मान समेत गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, आमा समूह, नौमती बाजा समूह, पुख्र्यौली समूहले सहयोगदाताहरुलाई भव्य स्वागत तथा सम्मान गरेका थिए ।
विद्यालयले शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालन गरेको आजिवन सदस्यता मार्फत आर्थिक संकलन गर्ने अभियानको सुरुवातमै दुई दम्पतीबाट विद्यालयलाई प्राप्त सहयोगले उत्साह थपिएको विद्यालयका प्रअ यादबले बताउनुभयो । उहाँका अनुसार, विद्यालयले विद्यालयको आजिवन सदस्य बन्नेहरुमध्ये रु १५ हजार सहयोग गर्नेलाई शिलालेखमा नाम, राख्ने, रु २५ हजार सहयोग दिने परिवारका दुई जनाको नाम शिलालेखमा राख्ने र एक जनाको तस्बिर विद्यालयको कार्यालयमा राख्ने र रु ३० हजार सहयोग गर्नेहरुको परिवारका दुई जना सदस्यको तस्बिर विद्यालयमा राख्नुका साथै विद्यालयमा विशेष सम्मान गर्ने घोषणा गरिएको छ । विद्यालयको शैक्षिक सामाग्रिको बन्दोबस्त देखि दुर्गम गाउँ भएको र विद्यालयमा आउने शिक्षक जनशक्तिलाई समेत टिकाउनका लागि समेत थप सुविधा प्रदान गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिनुभयो ।
लामो समयको अन्तरालमा स्वदेश फर्किएको र गाउँका विद्यालय लगायत सामाजिक संघ संस्थाको संस्थागत विकासमा सघाउन आफुहरुले सहयोग गरेको सहयोगदाता छन्त्यालको भनाई रहेको छ । कार्यक्रममा सहयोगदाता मनमान छन्त्याल ,सावित्री छन्त्याल, गमान छन्त्याल, धौलागिरी गाउँ पालिका ५ नम्बर वडाका वडा अध्यक्ष अमर बहादुर छन्त्याल विद्यालयका प्रधानाध्यापक सतेन्द्रकुमार यादव लगायतले मन्तव्य राख्नुभएको थियो भने विद्यालयका शिक्षक मनसा काफ्लेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । जनजागृति माविमा अहिले १७७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।