कुइनेखानीमा जंगलको डढेलोले गोठ जलेर नष्ट

  • २७ फाल्गुन २०८०, आईतवार
  • 2617 पटक पढिएको

म्याग्दी २७ फागुन ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा भिरमा अज्ञात व्यक्तिले लगाएको आगो फैलिएर फाँटमा रहेका पशु चौपायाका गोठ जलेका छन् । कुइनेको सिस्नेरी भीरमा लगाएको आगो भीरको तलको फाँटमा रहेको दलमान छन्त्यालका भैँसी, बाख्राका दुई वटा गोठमा पुगेपछि गोठहरु जलेका छन् ।
गोठमा आगलागी भएपछि गोठभिर रहेको भैँसी आगोको जलनले गम्भिर घाईते भएको छ । दिनको समयमा आगलागी भएको हुँदा बाख्राहरु चरनक्षेत्रमा रहेकाले थप क्षति हुनबाट जोगिएको गोठका सञ्चालक छन्त्यालले बताउनुभयो । गोठमा आगलागी हुँदा १० वटा भकारी, पाल, ठेकी, जरकिन, दाम्ला लगायतका गोठका सामान जलेर करिब ५० हजारको क्षति भएको उहाँले बताउनुभयो ।

जथाभावी रुपमा जंगल र भिर पहरामा आगजनीका घटनाले वनजंगलका साथै पशु चौपाया र मानविय क्षतिका घटना समेत घट्ने जोखिम बढेको छ । आगजनीको सम्वन्धमा रघुगंगा गाउँपालिका–८ का वडा अध्यक्ष गमान छन्त्याललाई जानकारी गराएको र उहाँले घाईते भैसीको उपचारमा गाउँपालिकाबाट औषधी सहित पशु प्राविधिक खटाउने र आवश्यक राहतको लागि पहल गर्ने जानकारी गराउनुभएको  परिवारका माइला छोरा देबिन दर्शन छन्त्यालले जानकारी दिनुभयो ।