पर्यटक डाक्दै करबाकेली (फोटो फिचर)

  • १८ फाल्गुन २०८०, शुक्रबार
  • कमल खत्री
  • 361 पटक पढिएको

म्याग्दी, १८ फागुन । अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जंगल’ले समय गएको पत्तो दिँदैन् । डाँडामा बनेका धार्मिक थरोहरका थानहरुले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृष्यहरुले पर्यटकहरुलाई लोभ्याइरहेको हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा पुग्ने पर्यटकहरुले यस्तै अनुभूति गर्न पाउँछन् ।
पुन समुदायको कुल देवता ‘करबाकेली बाबा’को अनुसंधान गरेर वि.स. २०६६ सालदेखि निर्माण सुरु भएको करबाकेली थान, पदमार्ग, पुन सङ्ग्राहलय, लगायतका पूर्वाधार निर्माणले यो क्षेत्र अहिले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । समुद्री सतहदेखि २३३२ मिटर उचाईमा अवस्थित करबाकेली धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका करिब एक दर्जन हिमालहरुलाई नजिकबाट अवलोकन गर्ने उपयुक्त स्थल मानिन्छ ।
गुर्जा, धौलागिरि, मानापाथी, बराह शिखर, नीलगिरी, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमालहरु यहाँबाट लहरै अवलोकन गर्न सकिन्छ । वरिपरि गुँरासे जंगलले घेरिएको करबाकेली क्षेत्र यतिबेला सुन्दर देखिएको छ । थरिथरिका गुँरासका फूलहरु फुल्न थालेपछि यस क्षेत्रमा पर्यटकहरुको आगमन बढ्न थालेको छ । असोजदेखि मंसिर सम्म धेरै पर्यटकहरु आउने भएपनि फागुन–वैशाखको याम गुँरासे जंगल र हिमालसंग रमाउनका लागि पर्यटकहरु आउने गरेको करबाकेली थान संरक्षण समितिका सचिब रबि गर्वुजाले बताउनुभयो ।
यस क्षेत्रको पर्यटन विकासका लागि ‘करबाकेली इको टे«क’ सञ्चालनमा रहेको छ । वि.सं. २०७५ बैशाखदेखि पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनी बजारलाई जोड्ने गरि सञ्चालनमा ल्याईएको यस पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् । थानमा पुर्जा गर्न आउने भक्तजन संगै भ्रमणमा आउने पर्यटकहरु पनि बढ्दो क्रममा छन् । पदमार्गलाई प्रचार प्रसार गरी पर्यटन आगमन बढाउने स्थानीयको जमर्को रहेको छ ।
यस क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको सुविधाको लागि करबाकेली थान परिसरमै सामुदायिक पाहुना घर निर्माण गरिएको छ । समितिका सचिब पुनले भाडामा होटल सञ्चालन गर्दै आउनुभएको यस घरमा अहिले दैनिक ४० जनासम्मलाई बसोबासको प्रवन्ध मिलाउने क्षमता रहेको छ । ‘‘ नौ वटा स्तरीय कोठा छन, धेरै पर्यटक आएमा समेत राख्न सक्ने थप व्यवस्था गरेका छौँ, अहिले थानको पुजामा आउनेहरु धेरै भएपनि पर्यटकहरु समेत होटलमा बास बस्न आउन थालेका छन, यसको प्रचार प्रसार भएमा पर्यटकको संख्या बढ्ने आसा गरेका छौँ’’–उहाँले भन्नुभयो ।
करबाकेली थान, पाहुना घर, पदमार्ग, प्रवेशद्धार संगै पुन समुदायको संस्कृति, परम्परा र रहनसहन झल्कने सङ्ग्राहलय समेत निर्माण भएको छ । करबाकेली बाबाको बसोबास गरेको मान्तया रहेको यस क्षेत्रमा कुवा, नौकुने ढुंगा, महभिर लगायतका करबाकेलीका अवशेष रहेका छन् । करबाकेली बाबाको अध्ययन अनुसंधान गरेपछि कुल देवताको थान बनाउने लक्ष्य सहित पूर्वाधार निर्माण सुरु गरिएकोमा अहिले यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको करबाकेली थान संरक्षण समितिका संरक्षक चामबहादुर पुन बताउनुहुन्छ ।
‘‘ पूर्वाधार बन्दै जाँदा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सफल भयौँ, पर्यटन सम्भावनालाई उजागर गर्न इको ट्रेक पनि बनायौँ, अब यसको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने हाम्रो जमर्को छ’’– पुनले भन्नुभयो । पर्यटकलाई कम्तीमा एक दिन काफलडाँडा र राम्चे क्षेत्रमा बसोबास गराउने गरि पर्यटन पूर्वाधार निर्माणको लागि पहल थालिएको उहाँको भनाई छ । करबाकेली थान, पाहुनाघर, सभाहल, पदमार्ग, कम्पाउण्ड घेरावार, सङ्ग्राहलय लगायतका पूर्वाधार निर्माणमा समुदाय स्तरबाट अहिलेसम्म करिब ३ करोड रकम संकलन गरेर परिचालन गरेको थान संरक्षण समितिले जनाएको छ ।
यहाँको अधिकाँश पूर्वाधार बनाउन स्वदेश तथा विदेशमा रहेका मनकारीहरुले स्वतस्फुर्त रुपमा आर्थिक सहयोग गरेर जुटाएका हुन् । करबाकेली थान र नौकुने ढुंगाको संरक्षणको लागि शेर भुवानी पुन स्मृति प्रतिष्ठानबाट ज्योतीमान र यामकुमार पुनबाट नौ लाख ९९ हजार ९९ राशीको अक्षयकोष समेत स्थापना गरिएको छ । स्थानीयबासीबाट करिब २० रोपनी बढी जग्गा निशुल्क प्राप्त गरेपछि निर्माण भएको करबाकेली थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला,ं फिमला र छोराहरू रामचन तथा कुलचनका मूर्ति राखिएका छन् । हरेक बर्षको जेठ र मंसिरको उजेली मंगलवार यहाँ ठूलो पुजा हुने गर्छ । अन्य समयमा समेत यहाँ नियमित रुपमा थानको दर्शनका लागि भक्तजनहरु पुग्ने गर्छन ।
करबाकेलीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन वडा, गाउँपालिका र प्रदेश सरकारले समेत सहकार्य गर्दै आएका छन् । सामुदायिक होटलमा किचन बनाउन रु ५ लाख बजेत उपलब्ध गराइएको र सङ्ग्राहलय, पदमार्ग लगायतका पूर्वाधार बनाउन समेत सहकार्य भएको अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उहाँका अनुसार, गत बर्ष करबाकेली देखि मोहरेडाँडा जोड्ने पदमार्गमा प्रदेश सरकार मार्फत रु ३० लाख बजेट विनियोजन भएर आलडाँडा क्षेत्रसम्म पदमार्ग निर्माण भएको छ । यस बर्ष गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत करबाकेली जाने पदमार्ग अन्तरगत थैसरादेखि थपना सम्म पदमार्ग निर्माण भएको छ । यस बर्ष रु ६ लाख पाँच हजार बजेटबाट पदमार्ग निर्माण हुने र यसलाई बाँसखर्क र बैँसरी तर्फ निरन्तर अगाडी बढाउने वडा कार्यालयको योजना रहेको छ । रासस          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l