बेनी नगरपालिका भित्र हुक्का निषेध
- १७ फाल्गुन २०८०, बिहीबार
- 301 पटक पढिएको
बेनी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिकाका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धुम्रपान गर्ने बस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भिर असर पार्ने र युवायुवतिलाई कुलतमा फसाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधवारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार हुक्कालाई पुर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिनुभयो । पछिल्लो समय बजार क्षेत्रमा युवायुवतिहरु हुक्का सेवनको कुलतमा फस्दै गएका थिए ।
युवायुवतिलाई कुलतमा लैजान हुक्काले प्रत्येक्ष प्रभाब पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आबश्यक छलफल र तयारीका साथ हुक्का सेवन र विक्रि वितरणमा निषेध गरिएको मेयर केसीले बताउनुभयो ।
नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवम विक्रि वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकार मध्ये दफा ११ को उपदफा २ खण्ड (ञ) बमोजिम आधारभूत स्वास्थ्य र सरसफाई अन्तरगत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने भएकाले हुक्कालाई पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ ।
कसैले अवज्ञा गरी हुक्का विक्री वितरण गरेको पाईएमा सुरक्षा निकाय र नगरप्रहरी मार्फत जफत गरी कानुन अनुसार अधिकतम कारबाही गरिने व्यवस्था समेत गरिएको नगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले जानकारी दिनुभयो । नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरी सहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहित सहितको सचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यस अघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुरेन्ट ब्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो ।