बुढ्यौलीमा मौलिक भाकाको संरक्षणमा जुटेका ‘लालबहादुर पुन’

  • १६ फाल्गुन २०८०, बुधबार
  • 783 पटक पढिएको

म्याग्दी , १६ फागुन । उमेरले ७४ बर्ष पार गर्नुभएका लालबहादुर पुन ( ख ) मौलिक भाका र पुख्र्यौली संस्कृतिको संरक्षणमा सक्रिय हुनुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबा घर भई हाल काठमाण्डौमा बसोबास गर्दै आउनुभएका पुन हराएर जाने अवस्थामा पुगेका मौलिक गीत र नाचको संरक्षणमा लाग्नुभएको छ ।
नेपाल प्रहरीबाट सेवा निवृत्त भएपछि सामाजिक सेवामा लाग्नुभएका पुन पछिल्लो समय सिरफुले, यानिमया, सालैजो, ठाडो, खेली, साइलोलगायतका पुराना र मौलिक भाकाहरुको संरक्षणमा जुट्नुभएको हो । उमेरले बुढ्यौली लाग्दै गएपनि आफु भने हराएर जाने अवस्थामा रहेका गीत र संस्कृति संरक्षणको अभियानमा जुटेको पुनले बताउनुभयो ।
वि.स. २०७२ मा मगर समुदायको मौलिक भाकाको रुपमा रहेको पुख्र्यौली गीतको म्युजिक भिडियो तयार गर्नुभएका पुनले अहिलेसम्म २० वटा परम्परागत र मौलिक भाकामा तयार गरिएका गीतको म्यूजिक भिडियो नै तयार गरिसक्नुभएको छ । पुख्र्यौली गीतको म्युजिक भिडियोमा बुढ्यौली लागेका पुन आफै मादले बनेर नाच्ने गर्नुहुन्छ ।
गाउँमा मेलाजात्रा, रोधी बस्दा, घाँस दाउरा गर्न जंगल जाँदा, खेतवारीमा काम गर्दा र विवाह, व्रतबन्ध, छेवर लगायतका परम्पराजन्य कार्यक्रमहरुमा गुञ्जिने मौलिक भाकाहरु हराउन थालेपछि आफु संरक्षणमा जुटेको उहाँको भनाई छ । ‘‘ मेरो अधिकाँश समय पुराना हराएर जाने अवस्थामा पुगेका भाकाहरुमा गीत तयार गर्नमा बित्ने गर्छ, गीत तयार भएपछि आफै पनि स्वर भर्ने गर्छु, कतिपय अन्य कलाकारहरुलाई समेत स्वर भर्न लगाउँछु र त्यसलाई छायांकन गरेर म्युजिक भिडियोसहित वाहिर ल्याउने गरेको छु’’– सर्जक समेत रहनुभएका कलाकार पुनले भन्नुभयो ।
पुनले तयार गर्नुभएको पुख्र्यौली गीतको हालै जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीमा म्यूजिक भिडियो छायांकन गरिएको छ । कलाकार पुनले खेली, चुट्के खेली, साइलो भाका, यानिमया लगायतका विभिन्न ६ वटा गीतमा आफै स्वर समेत दिनुभएको छ ।
गाउँका परम्परागत मौलिक भाकाका गीतहरु सुनिन छाडेपछि पुनले अभियान नै चलाएर पुराना भाकाहरुको संकलन र गीत लेखन सुरु गर्नुभएको थियो । ‘‘ गाउँमा बुबा–आमहरुले गाउँने भाकाहरु कहिँ कतै पनि सुन्न पाउने अवस्था छैन, कम्तीमा हामी गीत सुनेकाले यसको संरक्षण गरे, भाकाहरु पुस्तान्तरण हुन पाउँछन, मैले सिर्जना गरेका सबै गीतहरुको लय र ताल पुराना र मौलिक छन, त्यसैमा मैले शब्द सिर्जना गरेर गीत तयार गर्दै आएको छु’’–पुनले भन्नुभयो ।
गाउँका रैथाने संस्कृति हराएर जान नदिन आफुले ठेट लय नबिग्रने गरी गीत बनाउने गरेको उहाँको भनाई छ । पुनका ४ वटा सालैजो, पुख्र्यौली सोरठी भाकामा रेकर्ड भएका गीतलाई म्युजिक भिडियो बनाउने तयारी गरिएको छ । म्याग्दीका विभिन्न गाउँ बस्तीमा गाइने रेलिमै, सेदो लगायतका भाकामा समेत गीत बनाउने पुनले तयारी गर्नुभएको छ । उहाँले मगरहरुको पुख्र्यौली गीति संग्रह पुस्तक समेत प्रकाशन गर्नुभएको छ । यस पुस्तकमा पुख्र्यौली नाचका विभिन्न ५९ वटा गीत समावेश गरिएको छ । रासस