ठूलोखोला जलविद्युत आयोजनाको हेडरेस्ट र विद्युतगृह जोड्ने सुरुङ जोडियो

  • ५ फाल्गुन २०८०, शनिबार
  • 401 पटक पढिएको

कमल खत्री
म्याग्दी , ४ फागुन : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट) र तेस्रो सुरुङ (होरिजेन्टल टनेल) ब्रेकथ्रु भएको छ । इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युतगृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको १०३ मिटर लामो ठाडो सुरुङ र विद्युतगृहतर्फबाट खनिएको ४९५ मिटर लामो तेस्रो सुरुङ जोडिने कार्य सम्पन्न भएको आयोजना प्रमुख रविन्द्र हमालले जानकारी दिनुभयो ।
संयुक्त ऊर्जा लिमिटेडले २०७८ मंसिरदेखि निर्माण सुरु गरेको यस आयोजनाको २ हजार ७ सय मिटर लामो मुख्य सुरुङ गत मंसिरमा नै जोडिएको थियो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले सहायक ठेकेदार कम्पनी रोकाया कन्ट्रक्सन प्रा.लि.लाई आबश्यक जनशक्ति र मेसिन उपकरण सहित परिचालन गरेकाले आयोजनाको सबै सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख हमालले बताउनुभयो ।
‘‘ निर्माण सुरु भएको २२ महिनामा ७७ प्रतिशत काम सकिएको छ, सुरुङमार्गलाई फिनिसिङ गर्ने काम सुरु भैसकेको छ, विद्युतगृह र बाँधतर्फको काम पनि तिब्र गतिमा छ, आगामी साउनभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्यलाई अघि बढाएका छौँ’’–आयोजना प्रमुख हमालले भन्नुभयो । यस आयोजनाको विद्युत्गृहतर्फ ९० प्रतिशत काम सकिएको छ भने , हेडर्वक्सतर्फको बाँध, डिसेन्डर, अण्डर सुलुस लगायतका संरचनाको ७० प्रतिशत निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ ।

पूर्वाधार निर्माणमा दैनिक करिब २ सय जनशक्ति परिचालन गरिएको छ । आयोजनाको सबैभन्दा कठिन मानिने सुरुङ निर्माणको कार्य सकिएकाले लक्ष्य अनुसार नै आयोजनालाई पूर्णता दिन लागिपरेको आयोजना प्रमुख हमालले जानकारी दिनुभयो । रघुगंगा नदी स्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरी स्थित रघुगंगा नदिको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।
गैर आवासीय नेपाली र नेपालीहरुको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैँक तथा वित्तिय संस्थाहरुको लगानी रहेको छ । यस आयोजनामा नेपाल बैँक लिमिटेडको नेतृत्वमा सनराईज बैँक, राष्ट्रिय बाणिज्य बैँक, सिद्धार्थ बैँकले लगानी गरेको आयोजनाले जनाएको छ । आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रशारण लाईन निर्माणको चरणमा रहेको छ । यस आयोजनाको इलेक्टोमेकानिकल ठेकेदार ट्रोयर हाइड्रो इटालीले समेत विद्युतगृहतर्फको काम सुरु गरेको छ ।rss