कपडा तथा फेन्सी व्यवसायीलाई करदाता शिक्षा
- १९ माघ २०८०, शुक्रबार
- 339 पटक पढिएको
बेनी, १९ माघ । म्याग्दीका कपडा तथा फेन्सी व्यवसायीहरुलाई शुक्रबार करदाता शिक्षा दिइएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दी, बेनी नगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय बाग्लुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा करदाता शिक्षा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बाग्लुङका कर अधिकृत मोहन आचार्यले करमा दर्ता, नविकरण, अद्यावधिक र व्यवसाय बन्द गर्ने प्रक्रीयाका विषयमा जानकारी गराउनुभएको थियो । दर्ता गरेर मात्र व्यवसाय गर्न, कारोबार गर्दा बिल बिजक अनिवार्य जारी गर्न, नियमित कारोबार अद्यावधिक र व्यवसाय गर्न छाडेपछि बन्द गर्न आग्रह गर्नुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करको दर भन्दा पनि दायरा फराकिलो बनाउदै लगिएको र सरकारलाई तिरेको कर जनताको सेवा सुविधा तथा विकास निर्माणमा परिचालन हुने स्पष्ट पार्नुभयो । नगर प्रमुख केसी र वडा नम्बर ८ का अध्यक्ष उत्तम कर्माचार्यले झोले तथा पोके व्यापारीलाई नियमन गरिने प्रतिवद्धता जनाउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले कर कार्यालयले व्यवसायीको व्यवहारिक समस्या बुझ्नुपर्ने र व्यवसायीले राज्यको नीति नियम भित्र रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले रिखार दैनिक, धौलागिरी खबर, अन्नपूर्ण पोष्ट, रासस, सगरमाथा टेलिभिजनमा आवद्ध पत्रकार सन्तोष गौतमलाई सम्मान गरेको थियो । समितिका अध्यक्ष दामोदर शर्माको अध्यक्षता र सचिव देवीप्रसाद शर्मा (डिपी)को सञ्चालनमा सम्पन्न कार्यक्रममा करिब एक सय जना व्यवसायीहरुको उपस्थिति थियो ।