अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
- ७ माघ २०८०, आईतवार
- 439 पटक पढिएको
म्याग्दी ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकहरुको सुविधाको लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकहरुको आवास र खानाको सुविधाको लागि गाउँपालिकाले लज निर्माण गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिकाले लज निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक बर्षमा गाउँपालिकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना समेत तयार गरिरहेको छ । गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ‘‘अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको प्रवद्र्धनका लागि अहिले गुरुयोजना बनाउने काम भैरहेको छ, गुरुयोजनामा प्राथमिकता दिइएको पूर्वाधारहरुलाई नै पालिकाले योजनाबद्ध तरिकाले अघि बढाउने हो, यो बर्ष आधार शिविर र भुसकेटमेलामा दुई वटा लज बनाउने तयारी छ’’–उहाँले भन्नुभयो ।
गाउँपालिकाले अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवद्र्धन गर्न अभियान चलाउने तयारी गरेको छ । आधार शिविरमा लज निर्माण गरि सञ्चालनमा ल्याउन कसेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा पूग्नेछ । अहिले अन्नपूर्ण आधार शिविर जाने पर्यटकहरुले हुमखोलादेखि माथि आफै खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता रहेको छ ।
८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको नर्थ आधार शिविर पुग्न नारच्याङ गाउँदेखि मौरिस हर्जोग पदमार्ग सञ्चालमा छ । सन १९५० जुन ३ तारिककादिन अन्नपूर्ण प्रथममा पहिलो मानव पाईला परेको थियो । फ्रान्सेली हिमाल आरोही मौरिस हर्जोग र लुइस लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पहिलो आरोहण गरेर इतिहास रचेका थिए । उक्त आरोहण दलको नेतृत्व मौरीस हर्जोगले गरेको कारण नारच्याङदेखि नर्थ अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गको नाम ‘मौरिस हर्जोग’को नामबाट नामाकरण गरिएको छ । हर्जोगले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा ‘मौरिज हर्जोग पदमार्ग’को पहिचान गरिएको थियो । नारच्याङ गाउँदेखि आधार शिविर पुग्ने यस पदमार्ग मनोरम दृष्य र प्राकृतिक छटाहरुले भरिपूर्ण छ ।
गाउँपालिकाले पदमार्ग अन्तरगत फु्तफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्रामस्थल थप गर्ने, शौचालय र खानेपानीको प्रवन्ध मिलाउन, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका कार्यहरुलाई समेत प्राथमिकता दिएर पहल थालेको गाउँपालिका अध्यक्ष पुनले जानकारी दिनुभयो ।
नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोला सम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । सडक र पदमार्गका पूर्वाधार बनेसंगै गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि नारच्याङ हुँदै आधार शिविर सम्म एकैदिनमा पुग्न सकिन्छ । रासस