मालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविले जित्यो
- १४ पुष २०८०, शनिबार
- 555 पटक पढिएको
म्याग्दी, १४ पुस । मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात रजत र ६ कास्य पदक जित्दै उपाधि जित्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्बर ६ स्थित जनप्रिय माविले द्धितिय स्थान हासिल गर्न सफल भएको छ । त्यसैगरी पाँच स्वर्ण, ६ रजत र ६ कास्य पदक जित्न सफल वडा नम्बर ५ स्थित भिम मावि तृतिय हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम हुने किसानी माविले ८० हजार रुपैयाँ नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । द्धितिय भएको जनप्रिय माविले ६० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय भएको भिम माविले ४० हजार रुपैयाँ नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका शिक्षा अधिकृत अशोक रिजालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुन, वडा नम्बर ४ का वडा अध्यक्ष भेजेन्द्रमान पुन, वडा नम्बर ६ का वडा अध्यक्ष पथबहादुर रोका, वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन, वडा नम्बर २ का वडा अध्यक्ष उदय बुढाथोकी, शिक्षा अधिकृत रिजाल लगायतले वितरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष बर्गुजाले प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद संचालन गर्न प्रोत्साहन, प्रतिभाको पहिचान तथा खेलक्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
शिक्षा अधिकृत रिजालका अनुुसार,विहिबारदेखि सुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल र कवड्डी गरि तीन विधामा छात्रा १५ र छात्रतर्फ १५ गरि ३० वटा स्वर्णका लागि खेल संचालन गरिएको थियो । प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११ विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको संचालन जनप्रिय माविका प्रअ दिवाकर सुवेदीले गर्नुभएको थियो ।