पहिरोले बरंजामा पुरियो एक घर

  • १७ आश्विन २०८०, बुधबार
  • 431 पटक पढिएको

 

म्याग्दी, १७ असोज । अविरल बर्षापछि घर माथिबाट आएको पहिरोले म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाको घाम्ताङमा एक घर पुरिएको छ ।

दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पुर्‍याएको हो ।

स्थानीय दर्पण रोकाका अनुसार पहिरोले गोठमा रहेका पशुचौपाया समेत पुरिएका छन । पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका छन । पहिरो खस्न थालेपछि दर्जि सहित परिवार घरबाट निस्किएर सुरक्षित ठाउँमा गएकाले मानवीय क्षति भएको छैन ।

घर पहिरोले पुरिएपछि दर्जीको परिवारलाई तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको व्यवस्था गरि भैरमथान स्थित आमा समुहको भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको वडा मंगला गाउँपालिका ३ बरंजाका वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।

घर पुरिदा दर्जिको ७ जनाको परिवारको विचल्ली भएको छ । आर्थिक अवस्था कमजोर भएको र खाद्यान्न तथा लत्ताकपडा सवै पुरिएकाले तत्कालै राहतका लागि अध्यक्ष रोकाले रु ३ हजार सहयोग प्रदान गरेको बताउनुभयो । त्यस्तै छिमेकीहरुलाई पनि लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्न आव्हान गरेको अध्यक्ष रोकाले बताउनुभयो ।

गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट राहत सहयोगका लागि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकालाई घटनाको बारेमा जानकारी गराएको वडा अध्यक्ष रोकाको भन्नुभयो ।