फापरखेतको पहिरोको बैकिल्पक सडकमा बेलिब्रिज बनाउन प्रारम्भिक अध्ययन 

  • १३ आश्विन २०८०, शनिबार
  • 393 पटक पढिएको

म्याग्दी १३ असोज ।­ गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री माननीय रेशमबहादुर जुग्जालीको नेतृत्वमा शनिवार  म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ । मन्त्री जुग्जाली, पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल लगायतको प्राविधिक टोली, मंगला गाउँपालिका ३ का वडा अध्यक्ष यामबहादुर रोका लगायतले शनिबार मंगला गाउँपालिकाको वडा नम्बर ३ पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने बेलिब्रिज बनाउन प्रस्तावित ठाउँको स्थलगत निरिक्षण गर्नुभएको हो । यही असोज ४ गते बेनीमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन उद्घाटन गर्न आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे र भौतिक मन्त्री जुग्जालीले फापरखेतको पहिरोको स्थलगत निरिक्षण गरि प्राविधिक टोलीबाट अध्ययन गराउने, बैकल्पिक सडक र बेलिब्रिज बनाएर सहज तथा सुरक्षित रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाउने घोषणा गर्नुभएको थियो । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।