ठूलोखोलादेखि डाँडाखेत जोड्ने सडक स्तरोन्नती सुरु (फोटो फिचर)

  • ११ आश्विन २०८०, बिहीबार
  • कमल खत्री
  • 409 पटक पढिएको

बेनी, ११ असोज : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्याक निर्माण भएको ८ बर्षपछि स्तरोन्नती गर्न थालिएको छ । बेनी–दरबाङ सडकखण्ड अन्तरगत सिंगाको ठूलोखोलादेखि वडा नम्बर ४ र ५ का ग्रामीण बस्तीहरुलाई समेटिएको सिंगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान सडक ढलान सहित स्तरोन्नती गर्न थालिएको हो ।


गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तरगत सडक स्तरोन्नती गर्न थालिएको वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो । प्रदेश निर्वाचन क्षेत्र ‘क’का प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतीमा छनौट भएको यस आयोजनालाई चालु आर्थिक बर्षमा कार्यान्वयन हुने गरि रु १ करोड बजेट विनियोजन भएको थियो ।
गत असार २१ गते पूर्वाधार विकास कार्यालय, म्याग्दीसंग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबे÷कालीगण्डकी निर्माण जेभीले अहिले धमाधम सडक मर्मतको काम अघि बढाएको वडा अध्यक्ष खड्काले बताउनुभयो । वि.स. २०७२ सालमा सडकको ट्याक निर्माणले पूर्णता भएको भएपनि यस बर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नती थालिएको उहाँले जानकारी दिनुभयो ।
आगामी असार मसान्तसम्म निर्माण गर्ने समयसीमा रहेपनि निर्माण कम्पनीले समयअगाबै काम सम्पन्न गर्ने गरि जनशक्ति, मेसिन, उपकरण र निर्माण सामाग्रिको परिचालन गरेको जनाएको छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीहरुमा सडक ढलानको काम भैरहेको छ । ठूलो खोला र अधेरीखोला क्षेत्रमा समेत सडक ढलान गरिनेछ ।
रु ७२ लाख १९ हजार ८२९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले सडक ढलानको कामलाई तिब्रता दिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, यस बर्ष यो सडकखण्डको विभिन्न स्थानमा करिब १६० मिटर सडक ढलान गरिने छ । त्यसैगरि ७४१ घनमिटर ग्याविन जाली लगाउने र ३९ घनमिटर पक्कि पर्खाल निर्माण गरिने कार्यालयले जनाएको छ ।
यस सडकखण्डका केहि स्थानमा गत बर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाको रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले रु ३८ लाख बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो ।
यसैबिच सडक स्तरोन्नती योजनाको गण्डकी प्रदेश सभा सदस्य भण्डारी, वडा अध्यक्ष खड्का लगायतले टोलीले स्थलगत अनुगमन, निरिक्षण र अवलोकन गर्नुभएको छ । योजनाको अनुगमान गर्दै प्रदेश सभा सदस्य भण्डारीले सडक साँघुरो रहेको ठाउँ र घुम्तीहरुमा सडकलाई पराकिलो बनाउन र योजनालाई गुणस्तरीय बनाउन निर्माण व्यवसायि र प्राविधिकहरुलाई निर्देशन दिनुभयो । उहाँले सडकको शुन्यविन्दुबाट नै सडकलाई फराकिलो बनाउँदै ग्रेड र घुम्तीलाई सुधार गर्दै सडकलाई स्तरोन्नती गर्न आग्रह गर्दै आगामी बर्ष समेत यस योजनामा थप बजेटको लागि पहल गर्ने बताउनुभयो ।          

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l