मल्कबाङमा तीन दशक शिक्षणमा विताएका शिक्षकलाई अभिनन्दन (तस्बिर सहित)

  • ५ आश्विन २०८०, शुक्रबार
  • 624 पटक पढिएको

कमल खत्री
बेनी, ५ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । वि.स. २०५० सालमा शिक्षणको सिलसिलामा म्याग्दी आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृती माविमा नियुक्त हुनुभएको थियो ।
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको दुर्गम गाउँमा पुग्न नै बेनीबाट दुई दिनको पैदलयात्रा गर्नुभएका शिक्षक आलमलाई फरक भुगोल, भाषा, संस्कृति र रहनसहनमा घुलमिल हुन निकै कठिन भयो । तराईबाट उच्च पहाडी क्षेत्रको हावापानीमा विस्तारै घुलमिल हुँदै जाँदा आलम यहिँ दुर्गम गाउँको परिवेसमा आफुलाई परिचित मात्रै गराउनुभए, जीवनको महत्वपूर्ण समय यहिँ गाउँलाई सुम्पिन पुग्नुभयो ।
विद्यालयमा ३० बर्ष ६ महिना शिक्षण गर्नुभएका आलमले २३ बर्षदेखि निरन्तर प्रधानध्यापकका रुपमा विद्यालयको शैक्षिक नेतृत्व समेत सम्हाल्नुभयो । तराईदेखि दुर्गम गाउँसम्म आएर लामो समय शिक्षण गरि योगदान गर्नुभएका आलम अनिवार्य अवकास भएपछि सिंगो वडा र गाउँले भव्य अभिनन्दन गरेका छन् । यो गाउँमा बाहिरबाट आएर दिर्घसेवा गर्ने र अभिनन्दन हुने आलम पहिलो व्यक्ति हुनुहुन्छ । विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, आमा समूह लगायतले शिक्षक आलमलाई नौमति बाजा सहित फुल, माला लगाएर अभिनन्दन गरेका हुन् ।
वडा अध्यक्ष अमर छन्त्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्याल लगायत विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक सहित सिंगो गाउँबासीले उहाँलाई दोसल्ला, सम्मान पत्र, कदर पत्र सहित अभिनन्दन गर्दै चरेसका थाल उपहार दिएका थिए । एउटै विद्यालयमा तीन दशक बढी समय खर्चनुभएका शिक्षक आलमले गाउँमा आएर जागिर मात्रै नगरेको र सिंगो दुर्गम मल्कबाङ गाउँको शैक्षिक उत्थानमा योगदान दिएकाले गाउँमा शिक्षकलाई पहिलो पटक अभिनन्दन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिनुभयो ।
विदाईमा सिंगो गाउँबासी र विद्यार्थीहरु सहित शिक्षक आलम समेत भावुक बन्नुभएको थियो । विदाईमा सबैका सबैको आँखा रसाएका थिए । विदाई भएर जाँदै गर्नुभएका शिक्षक आलमले आफुले अवकास लिएर घर जान लागेकोमा खुसी भन्दा जीवनको तीन दशक समय विताएका गाउँ छाडेर जानुपरेकोमा आफु भावुक भएको बताउनुभयो । शिक्षणबाट अवकास लिएपछि आफुलाई पारिवारिक रुपमा घरपरिवासंग संगै बस्ने वातावरण भएपनि जीवनको उर्जावान समय विताएको गाउँसंग टाढिन परेकोमा आफु दुखी भएको उहाँले बताउनुभयो ।


‘‘ हिजोका ती सबै दुःख आज तपाईहरुले देखाउनुभएको मायाँले भुलाइदिएको छ, मैले कति योगदान गर्न सकेँ त्यो तपाईहरुको मुल्यांकनको बिषय हो, तर तपाईहरुले मलाई आफ्नै छोरा सम्झिएर यो गाउँको बसाईलाई सरल, सहज र स्मरणीय बनाइदिनुभयो, दुर्गमको दुःख भुलेर शिक्षणमा रमाउन पाएँ, सबैलाई धन्यबाद’’–आलमले भन्नुभयो ।
असोज ३ गते नियमित अवकास लिनुभएका शिक्षक आलमलाई गाउँमा भव्य विदाई गरिएको थियो भने धवलागिरि गाउँपालिका कार्यालयले समेत दुर्गम गाउँमा दिर्घसेवा शिक्षण गरेकोमा कदर पत्र र दोसल्लाद्धारा सम्मान सहित विदाई गरिएको छ । गाउँपालिका उपाध्यक्ष रेशम पुन र कर्मचारीलगायतले अवकास प्राप्त शिक्षक आलमलाई विदाई गर्नुभएको थियो ।
रौटहटको यमुनामाई गाउँपालिका–३ का स्थायी बासिन्दा आलम विज्ञान बिषयमा स्नातक उत्तीर्ण गरेपछि जागिरको सिलसिलामा वि.स. २०५० सालमा म्याग्दी आउनुभएको थियो । आलमलाई तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान बिषयको शिक्षकको रुपमा विद्यालयमा नियुक्त गर्नुभएको थियो ।
आलम विद्यालयमा शिक्षणमा आएपछि विद्यालयले २०५१ मा कक्षा ९ र २०५२ मा कक्षा १० को पठनपाठन सुरु गरेर माविमा स्तरबृद्धि गरिएको थियो । २०५७ देखि विद्यालयमा प्रधानध्यापकको जिम्मेवारीसमेत बहन गरेपछि आलमलाई विद्यालयमै रहने दायित्व थपिएको थियो ।
वि.स. २०५० वैशाख १८ गतेदेखि विद्यालयमा कार्यरत भएर शिक्षण जीवनको सम्पूर्ण समय दुर्गम गाउँको एउटै विद्यालयलाई सुम्पनुभएका आलमलाई विद्यालयका पूर्व विद्यार्थीहरुको पहलमा मल्कबाङ समाज युकेद्धारा यस अघि नगद रु एक लाख सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

२०५३ सालमा परिक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतिय श्रेणी पदमा उर्तिण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम २०६७ मा माध्यमिक तह द्धितिय श्रेणीमा बढुवा हुनुभएको थियो ।