किसानी प्राविधिक शिक्षालयः ‘प्राविधिक शिक्षा, सिक्दै कमाउँदै विद्यार्थी’
- ११ श्रावण २०८०, बिहीबार
- 472 पटक पढिएको
कमल खत्री
बेनी, ११ साउन : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभाबकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तरगत बाली विज्ञान र पशु विज्ञान बिषय अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई लक्षित गरि सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
शिक्षालयको बाली विज्ञानतर्फका विद्यार्थीहरुले प्रयोगात्मक सिकाईका लागि गरेको तरकारी खेती व्यावसायिक नै बनेको छ । यहाँका विद्यार्थीहरुले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन् । करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीहरुको करेसाबारीमा अहिले लौका, टमाटर, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ ।
विद्यार्थीहरुको करेसाबारीको उत्पादन रहरलाग्दो छ । विद्यार्थीहरुले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयमले प्रयोग गर्छन भने गाउँमा समेत विक्रि गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, बाली विज्ञान तर्फका विद्यार्थीहरुले १ हजार किलोग्राम बढी आलु उत्पादन गरेर विक्रि गरिसकेका छन् । यसअघि उनीहरुले च्याउ समेत उत्पादन गरेर विक्रि गरी आम्दानी गरेका थिए ।
विद्यार्थीहरुले ४ रोपनी जग्गामा धान खेती समेत गरेका छन् । यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीहरुले कुखुरापालन गर्दैै आएका छन् ।‘‘ सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभाबकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमुलक क्षेत्रमा लगाएका छन्, व्यवहारिक शिक्षा संगै आम्दानी समेत गर्न सफल भएका छन’’–शिक्षालयका प्रमुख कँडेलले भन्नुभयो ।
२०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन बर्षे बालि विज्ञान र तीन बर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कुल १४२ जना अध्ययनरत छन् ।
यहाँ अध्ययन गरेका विद्यार्थीहरु कृषि र पशु शाखातर्फ विभिन्न क्षेत्रमा रोजगारमा समेत आबद्ध हुने क्रम बढेको र घरपरिवारलाई समेत उत्पादनसंग जोड्न सफल भएको विद्यालयका प्रधानध्यापक जङ्गबहादुर गर्बुजाले जानकारी दिनुभयो । यस शिक्षालयले १८ महिने जेटिए, तीन बर्षे बालि विज्ञान र तीन बर्षे पशु विज्ञानतर्फ ४०÷४० जना सिटमा भर्ना खुलाएको छ । तस्बीर : विष्णु सुवेदी