स्वास्थ्य कार्यालय म्याग्दीको बार्षिक प्रगति सार्वजनिक

  • ३१ असार २०८०, आईतवार
  • धिरन खत्री
  • 323 पटक पढिएको

 

म्याग्दी, ३१ असार । स्वास्थ्य कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ। आईतबार कार्यालयको हलमा गरेको स्वास्थ्य जोखिम सञ्चार सम्वन्धी अभिमुखीकरण कार्यक्रममा बार्षिक प्रगति विवरण सर्वाजनिक गरेको हो ।

कार्यालय प्रमुख एकनारायण लम्सालले चालू आर्थिक बर्षमा विपन्न दलित, लोपोन्मुख समुदायका ३९५ जना सुत्केरीलाई ‘सुत्केरी पोषिलो खर्च’ वापत रु नौ हजारको दरले वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पोषण विशेष अनुदान अन्तरगत आएको ७८ लाख रुपैयाँबजेटमध्ये स्थानीय तहको समन्वयमा ३५ लाख ५५ हजार रुपैयाँ वितरण गरिएको बताउनुभयो । यस कार्यक्रममा नागरिकता नभएका उमेर नपुगी बच्चा जन्माएका किशोरी सूत्केरीहरु सुविधा पाउनबाट बञ्चित भएको उल्लेख गर्नुभयो ।


स्थानीय तहहरुमा एकसय ११ वटा खानेपानीको मुहान परिक्षण गर्दा ३३ वटा मुहानमा पीउन अयोग्य ‘इकोली’ जिवाणु मिसिएको भेटिएको छ। बेनीमा १४ वटा, मंगला, मालिका र धवलागिरीमा चार÷चार वटामा रघुगगामा ७ वटामा संक्रमित भेटिएको कार्यालय प्रमुख लम्सालले जानकारी दिनुभयो । आगामी आर्थिक बर्ष जिवाणु भेटिएको मुहानमा पानी शुद्धिकरण सम्वन्धी कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

चालू आर्थिक बर्षमा रहेको पाँच करोड १० लाख रुपैयाँ बजेटमध्ये रु तीन करोड ७० लाख रुपैयाँ ७९ हजार ४०० रुपैयाँ खर्च (७३ प्रतिशत) भएको छ ।

कार्यालयले स्वास्थ्यकर्मीहरुलाई नसर्ने रोग सम्वन्धी, मानसिक स्वास्थ्य सम्वन्धी, पालिकास्तर पूर्ण खोप कार्यक्रम सम्वन्धी, विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम, एच आई भी एड्स कार्यक्रम, क्षयरोग नियन्त्रण सम्वन्धी, अपाङ्गता ब्यवस्थापन सम्वन्धी लगायतका जनचेतना मूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले स्वास्थ्य कार्यालयले आगामी बर्षका कार्यक्रमहरुलाई पालिका र सरोकारवालाहरुसंग समन्वय गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो । विभिन्न सरकारी कार्यालयका प्रमुख र पत्रकार उपस्थित रहेको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेलले स्वास्थ्य क्षेत्रका जनचेतनामूलक कार्यक्रमको प्रचारप्रसार तथा समन्वयका लागि संचारमाध्यमहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l