राखु भगवतिमा वडा कार्यालय भवन निर्माण
- ३० असार २०८०, शनिबार
- धिरन खत्री
- 265 पटक पढिएको
म्याग्दी, ३० असार । रघुगंगा गाउँपालिका– २ राखु भगवतिमा वडा कार्यालय भवन निर्माण भएको छ । भगवतिस्थित सिरसिरेडाँडामा गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा भवन निर्माण भएको हो । सो नयाँ भवनबाट सेवाप्रवाह गर्न सहज भएको वडासदस्य कृष्णबहादुर केसीले बताउनुभयो ।
५० लाख रुपैयाँ बजेट खर्च मार्फत भवन, भवन पछाडी संरक्षण पर्खाल र अगाडीको सडक ढलान गरिएको गाउँपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो । उहाँले भवन बनाउन भण्डारी निर्माण सेवाले रु. ४२ लाख ६९ हजार ९२५ रुपैयाँमा ठेक्का लिएको थियो भने चालू आर्थिक बर्षमा ८ लाख रुपैयाँ बजेटमार्फत भवन पछाडी संरक्षण पर्खाल र अगाडी करिव एकसय मिटर सडक ढलान गरिएको बताउनुभयो ।
“एक तले भवनभित्र स्टोरसहित चार वटा कोठा भएको महिला र पुरुषका लागि छुट्टाछट्टै शौचालय भएको भूकम्प प्रतिरोधी क्षमताको भवन बनेको छ ।” उहाँले भन्नुभयो । “वडा अध्यक्ष, सचिब, जनप्रतिनिधीको बैठक कक्षको रुपमा कोठा प्रयोगमा आएका छन् ।”
वडा कार्यालय भवन निर्माणका लागि गत चालू आर्थिक बर्ष २०७८/०७९ मा गाउँपालिकाले रु. दश लाख, जिल्ला समन्वय समितिले रु. २५ लाख र प्रदेश सरकारले रु. ३५ लाख बिनियोजन गरेको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l